काठमाडौं- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोड्ने योजनामा छन्। यो सिजन युनाइटेडमा रहेर च्याम्पियन्स लिग खेल्न नपाउने भएकाले ३७ वर्षीय रोनाल्डोले क्लब छाड्ने चाहना राखेका हुन्।
रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसलगायत प्रतिनिधि विगत केही सातायता च्याम्पियन्स लिगमा खेल्न सक्ने टोलीको खोजीमा छन्। स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई उनको सम्भावित गन्तव्यको रूपमा औंल्याइएको छ। तर, रोनाल्डोले प्रिमियर क्लबबाटै खेल्ने इच्छा व्यक्त गरेका छन्। यसैबीच इङ्ग्ल्यान्डका पूर्वक्रिकेट कप्तान केभिन पिटरसनले उनको लागि विशेष ट्वीट गरेका छन्। उनी रोनाल्डोलाई युनाइटेडकै प्रतिद्वन्दी चेल्सी फुटबल क्लबमा हेर्न चाहन्छन्।
पिटरसनले रोनाल्डो र चेल्सीलाई ट्याग गर्दै ट्वीट गरेका छन्। उनले लेखेका छन्– चेल्सी फुटबल क्लब, कृपया क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नुहोस्। यद्यपि, चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेललेले हालै एक समर्थकको प्रश्नको जवाफ दिँदै रोनाल्डो आफ्नो योजनामा नरहेको प्रस्ट पारेका थिए।
युनाइटेडसँग रोनाल्डोको सम्झौता जुन ३०, २०२३ मा सकिँदैछ। साथै, क्लबले जुन ३०, २०२४ सम्म एक वर्षको लागि सम्झौता लम्ब्याउन खोजेको छ। युनाइटेडले उनलाई दुई वर्षका लागि अनुबन्ध गरेको थियो। क्लबसँगको सम्झौता अर्को वर्ष सकिँदासम्म उनको उमेर ३८ वर्ष चार महिना हुनेछ। यस्तो अवस्थामा उनी च्याम्पियन्स लिगका लागि पनि उपलब्ध नहुन सक्छन्।
रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। उनले लिगमा सर्वाधिक १४१ गोल गर्ने कीर्तिमान राखेका छन्। उनीपछि लियोनल मेसीले १२५ गोल गरेका छन्। यसबाहेक उनी च्याम्पियन्स लिगमा पनि सबैभन्दा बढी १४४ पटक देखा परेका छन्। रोनाल्डोले अझै तीन–चार वर्ष फुटबल खेल्ने आशा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।