काठमाडौं– प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गान क्लोपले नयाँ सिजनका लागि थप कुनै खेलाडी नभित्र्याउने प्रष्ट पारेका छन्।
लिभरपुल बोरुसिया डर्टमन्डका जुड बेलिङघम र स्पोर्टिङ सिपीका म्याथ्युस नुनेसलाई भित्र्याउन इच्छुक रहेको समाचारहरु प्रकाशित भइरहँदा उनले एन्फिल्डमा कुनै खेलाडी नभित्रिने दाबी गरेका हुन्।
लिभरपुलले २०२२-२३ सिजनका लागि फाबियो कार्भाल्हो, डार्विन नुनेज र केल्भिन रामसेलाई अनुबन्ध गरिसकेको छ।
तर, केही दिन अघिबाट लिभरपुलले नयाँ मिडफिल्डर भित्र्याउन लागेको समाचारहरु पनि प्रकाशित भइरहेका छन्। तर, क्लोपले भने ती सबै झुटो भएको बताए।
‘कुनै खेलाडीमा गम्भीर चोट लागेमा वा कोही खेलाडी बिक्री गरेपछि मात्र एन्फिल्डमा नयाँ खेलाडीको अनुबन्धबारे सोच्ने छौं,’ क्लोपले भने।
लिभरपुलले यस सिजन एफए कप र काराबाओ कप जित्यो। सिजनको अन्तिम सातासम्म चार उपाधिको संघारमा रहेको लिभरपुल प्रिमियर लिगमा अन्तिम समयमा म्यानचेस्टर सिटीसँग तथा च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।