काठमाडौं– आशन्न छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सोमबारबाट सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोलीका मुख्य प्रशिक्षक कुमार थापाले सोमबारबाट बन्द प्रशिक्षण सुरु गर्न लागेका हुन्। थापाले बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ५५ जना खेलाडी छनोट गरेका छन्।
महिला साफ च्याम्पियनसिप आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशामा आयोजना हुँदैछ।
यसअघि प्रतियोगिता भदौ १३ देखि २५ गतेसम्म हुने तय थियो। तर, दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको मिति भदौ २१ देखि असोज ३ गतेसम्मका सारेको हो।
अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो। सन् २०१९ को १२ देखि २२ मार्चसम्म विराटनगरमा आयोजना भएको प्रतियोगिताको उपाधि भारतले जित्दा नेपाल उपविजेता बनेको थियो। अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ।
चारपटक फाइनल पुगेको नेपाल चारै पटक उपविजेता बनेको छ। यो पटकको महिला साफमा आयोजक नेपालसहित भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।