काठमाडौं- यसै ट्रान्सफर विन्डोमा भित्रिएका फरवार्ड राफिन्हाको गोलमा बार्सिलोनाले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा ला लिगा प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ।
आइतबार बिहान अमेरिकाको लास भेगासको एलिगेन्ट स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले रियललाई १-० गोलले पराजित गरेको हो।
सुरुआतबाटै चर्को प्रतिस्पर्धा भएको खेलमा बार्सिलोनाले रियलविरुद्ध खेलको २७औं मिनेटमा अग्रता लिएको थियो।
उसका लागि ब्राजिलियन खेलाडी राफिन्हाले गोल गरेका थिए। उनले रियलका डिफेन्डरबाट क्लियर हुन नसकेको बलमा बक्स बाहिरबाट प्रहार गरेको सटले जाली चुमेको थियो।
राफिन्हाको शक्तिशाली सटले पोस्टको माथिल्लो कुना च्यापेर जाली चुम्दा गोलकिपर थिबाउट कोर्टुवाले त्यसलाई रोक्ने कुनै चान्स नै पाएनन्। उक्त गोल नै बार्सिलोनाको जितमा प्रयाप्त बन्यो।
राफिन्हाका लागि यो बार्सिलोनाको जर्सीमा दोस्रो तथा पहिलो इएल क्लासिको खेल हो। यसअघि उनले डेब्यू खेलमा अमेरिकन क्लब इन्टर मियामीविरुद्ध १ गोल र १ असिस्ट गरेका थिए।
बार्सिलोनाले आफ्नो बलियो टोली उतार्दा रियलले भने मुख्य खेलाडी करिम बेन्जेमालाई विश्राम दिएको थियो। बार्सिलोनाले भने यसै ट्रान्सफर विन्डोमा क्लब आएका फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र राफिन्हालाई पहिलो रोजाइमा नै खेलाएको थियोे। लेवान्डोस्कीको बार्सिलोनाबाट यो डेब्यू खेल हो।
यता, रियलले भने बेन्जेमालाई विश्राम दिँदै दुवै नयाँ खेलाडी एन्टोनियो रुडीगर र औरेलिएन चुआमेनीलाई उतारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।