काठमाडौं– वर्षेनी सबैभन्दा धेरै फिल्म बनाउने विश्वकै ठूलो फिल्म उद्योग बलिउड कोरोना महामारीको दुई वर्ष बितिसक्दा पनि समस्याबाट गुज्रिरहेको छ।
महामारीले बलिउड फिल्म उद्योगमा निकै असर परेको थियो। पहिलेजस्तै भिडभाडसहित फिल्म हेर्ने चाहनामाथि बन्देज जस्तै लागेको थियो भने फिल्म उद्योगलाई अहिलेसम्म एक करोड रुपैयाँको राजस्वको नोक्सानी पनि भएको छ। फिल्म हेर्न जाने दर्शकहरु पनि आफ्नो पैसा कहाँ खर्च गर्ने भन्ने विषयलाई लिएर सचेत भएका छन्।
बक्सअफिसको तथ्यांकअनुसार यो वर्षको सुरुवाती ६ महिनामा प्रदर्शनमा आएका २० वटा हिन्दी फिल्महरु मध्ये १५ फिल्म असफल भएका छन्। यसमा बलिउडका सबैभन्दा ठूला सुपरस्टार पनि सामेल छन्। रणविर सिंहको ‘८३’ र ‘जयेशभाई जोरदार’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ तथा कंगना रणावतको ‘धाकड’।
बलिउडका फिल्मले गर्ने व्यापारमाथि निगरानी गरिरहेका जोगिन्दर टुटेका भन्छन्, ‘यी फिल्महरुले करिब सात सयदेखि ९ सय करोडसम्मको नोक्सानी भोग्नु परेको छ। फिल्मको डिजिटल र सेटलाइन अधिकार नबेचेको भएमा यसको भरपाई गर्न थप कठिनाई हुन्थ्यो ।’
बक्सअफिसमा किन बलिउड भइरहेछ असफल?
फिल्मले खराब प्रदर्शन गर्नुको पछाडिका थुप्रै कारणहरुमध्ये एउटा कारण उनीहरुमा भएको कमजोर कथावस्तु हुनसक्छ।
एमके ग्लोबल फाइनेन्सियल सर्विसेसको एक रिपोर्टमा भनिएको छ, ‘एक समय थियो, जब कथावस्तु कमजोर हुँदाहुँदै पनि ठूला कलाकारहरुले आफ्ना प्रशंसकहरुको बलमा दर्शकलाई सिनेमा हलसम्म तानेर ल्याउन सक्थे र फिल्मले ठिकै कमाई पनि गर्थ्यो। तर, समयसँगै दर्शकको प्राथमिकतामा परिवर्तन आएको छ र फिल्मको कथावस्तुमाथि विशेष ध्यान दिन थालिएको छ।’
तर, फिल्मका निर्माताहरु कोभिडभन्दा अघि बक्स अफिसमा राम्रै प्रदर्शन हुने मिड बजेट र गम्भीर फिल्महरु पनि कोभिडपछि राम्रो व्यापार गर्न नसकेको विषयलाई बुझ्न सकेका छैनन्। भारतकै सबैभन्दा ठूलो फिल्म स्टुडियोमध्येको एक टि–सिरिजका मालिक भुषण कुमारकाअनुसार दर्शक अब फिल्ममा राम्रो कथावस्तु र ठूला कलाकारलाई देख्न चाहन्छन्।
निर्मातामा दुबिधाको अवस्था
भुषण कुमारले निर्माण गरेको हरर कमेडी विधाको फिल्म ‘भुल भुलैया २’ यो वर्ष सबैभन्दा धेरै कमाई गर्ने फिल्महरु मध्येमा पर्छ। तर पनि उनी फिल्म निर्माताहरुमा दुबिधाको अवस्था सिर्जना भएको बताउँछन्। बक्स अफिसमा लगातार प्राप्त भइरहेको असफलताका कारण निर्माताहरुले दर्शकले कस्तो फिल्म मन पराउँछन् भन्ने नै बुझ्न नसकेको भुषण बताउँछन्। भुषण कुमारजस्ता कैयौ निर्माताहरु दर्शकमा फिल्म मनपर्ने विषयमा भएको परिवर्तनसँग संघर्ष गरिरहेका छन्। स्ट्रिमिङ्ग प्लेटफर्मको पहुँच र सिनेमा हलसँग दर्शकको बढिरहेको दूरीका कारण बक्स अफिसमा एक फिल्म सफल बनाउन पहिलेभन्दा निकै मुस्किल भएको उनी बताउँछन्। त्यसमाथि कोरोनाका कारण अवस्था थप असहज भएको छ।
कुमारकाअनुसार बढिरहेको रिलिज डेट, मूल्य वृद्धिसँगै कोभिड प्रोटोकलका कारण फिल्मको औसत बजेट १०देखि १५ गुणा बढेको छ। सँगै टिकटको मूल्य पनि निकै महंगो भएको छ। थिएटरको क्षमता कम भएको छ र कैयौ हलहरु कोरोना महामारीको समयमा पूर्ण रुपमा बन्द भएका छन्।
एमके ग्लोबलकाअनुसार नातावाददेखि धार्मिक भावनामाथि ठेस पुर्याएको आरोपका बीच चलिरहेको बलिउड बिरोधी सामाजिक सञ्जालको अभियानले पनि फिल्म उद्योगलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ। तर, यो नोक्सान कति भएको छ भन्ने अनुमान लगाउन भने गाह्रो छ।
बक्स अफिसमा दक्षिण भारतीय फिल्म
परम्परागत रुपमा दक्षिण भारतमा बनेका फिल्महरुले आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गर्छन्। तर, पछिल्ला केही समयदेखि हिन्दी भाषा केन्द्रित क्षेत्रमा पनि दक्षिण भारतीय फिल्मका हिन्दी डब संस्करणहरुको लाकप्रियता बढिरहेको छ।
यी फिल्महरुले यहाँ निकै राम्रो प्रदर्शन मात्रै नभएर बक्स अफिसमा आम्दानी गर्ने कुरामा पनि बलिउड फिल्मको अगाडि धेरै राम्रो गरिरहेका छन्। उदाहरणका लागि दक्षिण भारतीय फिल्म ‘आरआरआर’, ‘केजिएफ च्याप्टर २’ र ‘पुष्पा’ले बलिउड फिल्मको दबदबा भएको क्षेत्रमा पनि राम्रो व्यापार गरेका छन्।
विशेषज्ञहरुका अनुसार मुम्बईको स्टुडियोमा बन्ने हिन्दी फिल्महरुमा दक्षिण भारतमा बन्ने ब्लकबस्टर फिल्ममा जस्तो भव्य सेट, आकर्षक गीत र स्लो मोसन भिडियोको अभाव छ।
फिल्म समीक्षक सुचरिता त्यागी देशमा दक्षिण भारतीय फिल्मको बढिरहेको लोकप्रियताबारे भन्छिन्, ‘यदि म अहिले सिनेमा हलमा जान्छु भने मलाई फरक किसिमको अनुभव आवश्यक छ, जस्तो म कुनै रोमाञ्चक यात्रामा हुँदा गर्छु।’
महामारीमा घरमै बसेर स्ट्रिमिङ्ग प्लेटफर्ममा कैयौं गैर–हिन्दी दक्षिण भारतीय फिल्महरुको खोजी भएको छ। किनकी घरमा हुँदा एक समयपछि हिन्दी फिल्ममाथि आफ्नो मन अघाउने गर्छ।'
तर, विश्लेषक यो चलनलाई विश्वसनीय भने मान्दैनन। एमके ग्लोबलको रिपोर्टका अनुसार, ‘क्षेत्रिय फिल्म (दक्षिण भारतीय र गैर–हिन्दी फिल्म)को प्रदर्शन सामान्यतयः उनीहरुको परम्परागत बजारभन्दा बाहिरको क्षेत्रमा कम प्रभावकारी हुन्छ।’
यो वर्षको अबको ६ महिनासम्म कुनै पनि ठूला दक्षिण भारतीय फिल्म वा क्षेत्रिय फिल्मको प्रदर्शन छैन। यस्तोमा हिन्दी फिल्मलाई नै बक्स अफिसको अवस्थालाई सुदृढ राख्ने जिम्मेवारी मिलेको छ।
अब के होला?
बलिउडमा अब ‘फरेस्ट गम्प’ फिल्मको हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ र रणविर कपुरको एक्सन ड्रामा फिल्म ‘शमशेरा’जस्ता बहुप्रतिक्षित फिल्मको प्रदर्शनको क्रममा छ, जसले पहिलो ६ महिनामा भएको घाटालाई पछिल्लो ६ महिनामा पुर्न सक्छ । तर, ‘शमशेरा’ प्रदर्शनमा आउँदा उक्त फिल्मले पनि खासै राम्रो आम्दानी गर्न सकेको छैन।
वर्षको सुरुवाती ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा धेरै फिल्महरु प्रदर्शनमा आइरहेका छन्। यस्तोका बक्स अफिस कलेक्सन पनि कोभिडभन्दा अघि कै स्तरमा बढने अनुमान गरिएको छ।
कसैले पनि ठूलो पर्दामा फिल्म हेर्ने समय सकिएको भन्न चाहँदैन। तर, विश्लेषकहरुले भने स्ट्रिमिङ्ग माध्यमको बढिरहेको लोकप्रियता र दर्शकको फिल्म हेर्ने स्वभावमा आएको बदलावका कारण व्यावसायमा प्रभाव पर्ने बताएका छन्। एमके ग्लोबलको रिपोर्टमा उल्लेख भएअनुसार विभिन्न अवस्था दर्शकले सिनेमा हलमै गएर फिल्म हेर्नुभन्दा ओटिटी माध्यममै फिल्म प्रशदशर्न हुने समय कुर्नेछन्। मुख्य गरि फिल्म औसत भएको अवस्थामा यो देखिनेछ। फिल्म क्षेत्रमा ‘डाइरेक्ट टु स्ट्रिमिङ्ग’को रुपमा फिल्म रिलिज गर्ने संख्या पनि बढ्ने सम्भावना रहेको बताइएको छ।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।