काठमाडौं- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले प्रि-सिजन टूरअन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ।
आइतबार बिहान अमेरिकामा भएको खेलमा सिटीले बायर्नलाई १-० गोल अन्तरले हराएको हो। सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए। उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका हुन्।
हालान्ड यसै सिजन बोरुसिया डर्टमण्डबाट सिटी आएका हुन्। हालान्डको गोललगत्तै खेल भारी वर्षाका कारण झन्डै ४० मिनेट स्थगित भएको थियो।
त्यसपछि रोकिएकै स्थितिबाट खेल सुचारु हुँदा खेललाई छोट्याइएको थियो। प्रि–सिजनमा सिटीको यो लगातार दोस्रो जित हो। यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि २–१ को निकालेको थियो। बायर्नको यो पहिलो हार हो। यसअघि बायर्नले पहिलो खेलमा डिसी युनाइटेडलाई ६–२ ले पराजित गरेको थियो।
प्रि–सिजन तयारीका लागि सिटी र बायर्न हाल अमेरिकामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।