काठमाडाैं-प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबलका दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना भिड्दैछन्। अमेरिकाको लस भेगासमा हुने यस खेललाई 'लस भेगास क्लासिको' नाम दिइएको छ।
खेल नेपाली समयअनुसार आइतबार विहान ८:४५ बजेबाट सुरु हुनेछ। आइतबार हुने खेल भने जेरार्ड पिकेले गुमाउने भएका छन्। पिकेको बायाँ खुट्टामा लागेको चोट अझै निको नभएपछि रियलविरुद्धको खेल गुमाउने भएका हुन्।
बार्सिलोनाले पिकेको चोट पूर्णरुपमा निको नभएको र नयाँ सिजन सुरु हुन केही समय मात्र बाँकी रहँदा जोखिम लिन नचाहेको जनाएको छ।
प्रि–सिजन भ्रमणमा अमेरिकमा रहेका यी दुई स्पेनिस जायन्टबीचको खेल लस भेगासको एलेजायन्ट स्टेडियममा ६५ हजार दर्शकबीच हुनेछ। त्यसपछि बार्सिलोनाले प्रि–सिजन अन्तर्गत जुलाई २७ मा इटालीयन क्लब युभेन्ट्ससँग खेल्नेछ।
गत सिजन स्टार खेलाडी लिओनल मेसीको बहिर्गमनपछि बार्सिलोनाले क्लब इतिहासको खराब रेकर्ड कायम गरेको थियो। सिजनको बीचमा प्रशिक्षक रोनाल्ड कोम्यानलाई बार्सिलोनाले बर्खास्त गर्दै पूर्वखेलाडी जाभी हर्नान्डेजलाई नियुक्त गरेको थियो।
उनी फर्किएसँगै टोलीलाई मैदानभित्र बलियो बनाएका छन्। बार्सिलोनाले फ्री–ट्रान्सफरमार्फत् फ्रान्क केसी र आन्द्रिएस क्रिस्टेन्सनलाई अनुबन्ध गरेको छ। यस्तै, आक्रमण बलियो पार्न राफिन्हा र रोबर्ट लेवान्डोस्की भित्र्याइसकेको छ।
बार्सिलोनाले यसअघि अमेरिका भ्रमणमा इन्टर मायमीसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ। उक्त खेलमा बार्सिलोना ६-० को फराकिलो अन्तरले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।