काठमाडाैं-नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बू (चेम्जोङ) सम्मिलित माजिया स्पोर्टस् एन्ड रिक्रियसनले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि जितेको छ।
शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा माजियाले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १-० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो। समग्रमा माजियाको यो चौथो लिग उपाधि हो।
माजियाको जितमा स्पेनिस खेलाडी टाना डोनिन्गुइजले खेलको ४१औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। बाँकी समय दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्।
माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो। यसअघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए। १९ खेल खेल्दा माजियाले १८ खेलमा जित र एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।