काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउन राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएको हो।
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले सेयर धितो कर्जामा प्रतिव्यक्ति ४ करोड लिने व्यवस्था हटाएको छ। तर, कूल १२ करोडको सीमा भने यथावत् राखेको छ।
यसअघि गत आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो राखेर एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड मात्रै ऋण लिन मिल्ने व्यवस्था रहेको थियो। उक्त व्यवस्था हटाउँदै प्रतिव्यक्तिले १२ करोड ऋण लिने पाउने सीमा राखिएको हो। अब एक बैंकबाट एक व्यक्तिले १२ करोड रुपैयाँसम्म लिन सक्नेछन्।
केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसन प्रयोजनार्थ कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने प्रणालीलाई पनि खारेज गरिदिएको छ।
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडि रेसियो) गणनामा लचकता अपनाएको छ। केन्द्रीय बैंकले सिडि रेसियो गणना गर्दा २०८० असार सम्म जारी ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदाय (Money Supply) को वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको छ। यसअघि कोरोनाकालमा दिएको पुनर्कर्जाको सुविधालाई हटाउँदै केन्द्रीय बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रणको नीति लिएको हो।
सरकारले चालु आवको बजेटमा ८ प्रतिशत बराबरको आर्थिक वृद्धि हासिल गर्ने र मूल्यवृद्धिको सीमा ७ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ।
उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ।
मौद्रिक नीतिको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।