काठमाडौं– पश्चिम जर्मनीलाई १९६६ को विश्वकपको फाइनलमा पुर्याउने उवे सीलरको निधन भएको छ। उनको ८५ वर्षको उमेरमा निधन भएको हो।
युद्धपछि तत्कालीन पश्चिम जर्मनीबाट ४ विश्वकप खेलेका सीलर जर्मन फुटबलका सबैभन्दा प्रतिष्ठित व्यक्तित्वमध्ये एक मानिन्छन्। उनी ४ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत हुन्।
पूर्वकप्तान समेत रहेका सीलरले जर्मनीका लागि ७२ खेलमा ४३ गोल गरेका थिए। उनले क्लब फुटबलमा ह्याम्बर्गबाट मात्र खेलेका थिए। ह्याम्बर्गका लागि उनले ५ सय ८० खेलमा ४ सय ९० गोल गरेका थिए।
जर्मन चान्सलर ओलाफ स्कोल्जले ट्वीटरमा भनेका छन्,‘उहाँ धेरैका लागि आदर्श थिए, हामी उहाँलाई मिस गर्नेछौं।’
१९९६ मा जन्मेका सीलरले १९५३ मा ह्याम्बर्गको लागि डेब्यू गरेका थिए। उनी पछि क्लबको अध्यक्ष भए। तर, १९९८ मा आर्थिक घोटालाको कारण राजीनामा दिए, जसमा उनी संलग्न थिएनन्।
सीलरले १९५४–१९७० को बीचमा पश्चिम जर्मनीका लागि कुल ७२ खेल खेल्दै ३३ गोल गरे। तर, कहिल्यै विश्वकप जित्न सकेनन्।
दोस्रो विश्वयुद्धपछिको जर्मन फुटबल पुनर्निर्माणको मुख्य वास्तुकार उनी नै थिए। उनको कप्तानीमा पश्चिम जर्मनी १९५८ को विश्वकपमा स्वीडेनमा चौथो भएको थियो भने १९६२ मा क्वार्टरफाइनलमा पराजित भएको थियो।
तर, उनको नेतृत्वमा पश्चिम जर्मनी १९६६ मा भएको विश्वकपमा फाइनलमा पुग्यो। यद्यपि, अतिरिक्त समयपछि ४–२ ले आयोजक इङ्ल्यान्डसँग पराजित भयो।
इङ्ल्यान्डलाई ३–२ को अग्रता दिने जिओफ हर्स्टको गोल साँच्चै लाइन ओभर थियो कि थिएन भन्ने बहसका कारण यो विश्वकपको सबैभन्दा विवादित मानिन्छ।
हर्स्टको सर्ट गोलकिपर हान्स टिल्कोस्कीलाई लागेपछि बल क्रसबारमुनि गएर डिफेन्डर वोल्फगाङ वेबरले हेड गर्नुअघि लाइनबाट बाउन्स भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।