काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवासँग वर्ल्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपीपीपी) को प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। डब्लुएपीपीपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन सदस्यीय टोलीले बिहीबार बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेको हो।
भेटमा सार्वजनिक–निजी साझेदारी (पीपीपी)मार्फत् पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिनेबारे छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ। यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ।
पीपीपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत् नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै टोलीले नेपालले पीपीपीअन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पीपीपी आकर्षक भए पनि आफैँमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष–वित्तीय, कानूनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्यलगायतको कुशल तादात्म्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पीपीपीका क्षेत्रमा काम गर्ने संस्थाको सोहीअनुसार क्षमता विकास हुनुपर्ने टोलीको धारणा थियो।
टोलीले लगानी बोर्डको कार्यालय डब्लुएपीपीपीको सदस्य भएकाले सहयोगका लागि सधैँ तत्पर रहेको प्रतिबद्धता जनाएको थियो।
उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा डब्लुएपीपीका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पीपीपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताए।
उनले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पीपीपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजनाअनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराए।
उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपालमा पीपीपीअन्तर्गत स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधनलगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लुएपीपीको विज्ञताको लाभ लिन इच्छुक रहेको बताएको विज्ञप्तिमा उल्लेख छ।
उनले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सदभावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।