भद्रपुर– मोबाइल चोरीमा संलग्न रहेको भनेर पक्राउ परेका व्यक्तिको साथबाट झापा प्रहरीले पेस्तोलमा लाग्ने गोली ८० राउन्ड बरामद गरेको छ।
असार २४ गते राति झापाको पुरानो भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलमा चोरी भएको थियो। चोरले मोबाइल पसलमा प्रवेश गरी विभिन्न कम्पनीका मोबाइल सेट २९, घडी २ थान र नगद ६१ हजार ५०० रुपैयाँ चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उजुरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहम्बद प्यारेलाई पक्राउ गरेको थियो। प्रहरीले प्यारेलाई असार २८ गते राति पक्राउ गरेको थियो।
प्यारेमाथि अनुसन्धानका क्रममा प्रहरीले उनको साथबाट चोरी भएकोमध्ये १ थान मोबाइल, मोबाइलको चार्जर २७ थान बरामद गरेको थियो। यस्तै, उनको घरमा तलासी गर्ने क्रममा पेस्तोलमा लाग्ने गोली ८० राउन्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
मोबाइल पसलमा चोरी गर्नका लागि सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाइएको ताला समेत प्यारेको साथबाट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका प्यारेमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।