काठमाडौं–प्रहरी वृत्त गौशालामा कार्यरत सादा पोशाक (घुमुवा) प्रहरीमाथि कुटपिट भएको छ। प्रहरी सहायक निरीक्षक (असई)सहितको कमाण्डमा खटिएका तीन जना घुमुवा प्रहरीमाथि कुटपिट भएको हो।
स्रोतका अनुसार एक घटनाको अनुसन्धानका लागि आवश्यक परेको भन्दै सीसी टीभी फुटेज लिन भन्दै मध्यराति गौशाला वृत्तबाट निस्केको टोलीमाथि कुटपिट भएको हो।
असईसहितको टोली एक होटलमा छिरेर मदिरा सेवन गरिरहेका बेला विवाद भएपछि प्रहरीमाथि नै कुटपिट भएको स्रोतले जनाएको छ। कुटपिटबाट प्रहरीको टाउको फुटेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
यता प्रहरी स्रोतले भने मदिरा पिएर विवाद नगरेको दाबी गरेको छ। ड्युटीमा रहेका बेला राति परेकाले एक होटलमा खाना खान पस्दा त्यहाँ आएका ग्राहकको खुट्टा प्रहरीले कुल्चिएको निहुँमा प्रहरीमाथि कुटपिट भएको दाबी गरेको छ।
अन्जानमै खुट्टा कुल्चिदा त्यसैलाई इस्यू बनाएर प्रहरीमाथि कुटपिट भएको हो। ७/८ जनाको समूहमा रहेका व्यक्तिहरुले प्रहरीलाई इँटाले टाउकोमा प्रहार गर्दा उनीहरुको टाउको फुटेको छ।
प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकी भने फरार छन् । घटना आइतबार रातिको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।