काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा एक युवकमाथि छुरा प्रहार भएको छ। छुरा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका–४ का २७ वर्षीय दिपेश शाक्य छन्। उनले असार २५ गते थलीमा सिन्धुपाल्चोकको साँगाचोकगढीका २५ वर्षीय राजन श्रेष्ठको पेटमा छुरा प्रहार गरेका थिए।
छुरा प्रहार गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ पहरी वृत्त बौद्धको टोली उनको खोजीमा जुटेको थियो। सोही क्रममा १८ घण्टापछि असार २६ गते शाक्यलाई उनकै कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
उनीबाट छुरासमेत प्रहरीले बरामद गरेको छ। शाक्यविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।