कोलम्बो– श्रीलंकाका पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ बासिल राजापाक्षको देश छाडेर भाग्ने प्रयास असफल भएको छ। सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाईजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेकामा उनी सवार हुन खोजेको हवाईजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ।
यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन्। शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो। प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन्।
शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए। राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।