तस्बिर : नासा।
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ले लिएको पहिलो रंगीन तस्बिर सार्वजनिक गरेका छन्। सोमबार साँझ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उनले यो तस्बिर सार्वजनिक गरेका हुन्।
अन्तरीक्ष अनुसन्धान संस्था नासाका अनुसार यो तस्बिर हालसम्म लिइएका अन्तरीक्षका तस्बिरहरुमध्ये सबैभन्दा स्पष्ट र इन्फ्रारेड तस्बिर भएको बताइएको छ। ब्रह्माण्डको सबैभन्दा स्पष्ट तस्बिर संसारकै सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोपले लिएको हो।
बाइडेनले उक्त तस्बिर सार्वजनिक गर्दा ऐतिहासिक दिन भएको बताएका थिए। उनले संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोपले तस्बिर खिचेसँगै ब्रह्माण्डको इतिहासमा नयाँ बाटो खुलेको पनि बताएका छन्।
सार्वजनिक भएको तस्बिरमा हालसम्म नदेखिएका थुप्रै बह्माण्डहरु देखिएका छन्। यो तस्बिरका साथै सोमबार थप चार ग्यालेक्टिक तस्बिरहरु पनि सार्वजनिक गरिने नासाले जनाएको छ।
गत महिनाको पत्रकार सम्मेलनमा नासाका प्रशासक बिल नेल्सनले भनेका थिए, ‘हामीले मानवतालाई ब्रह्माण्डको नयाँ दृष्टिकोण दिन लागेका छौं। र, यो दृश्य त्यस्तो दृश्य हो जुन हामीले यसअघि देखेका थिएनौं।’
९ बिलियन अमेरिकी डलर बराबरको जेम्स वेब टेलिस्कोप सन् २०२१ डिसेम्बरमा पृथ्वीबाट अन्तरीक्षमा पठाइएको थियो। यो टेलिस्कोप ३० वर्ष पुरानो हब्बल स्पेस टेलिस्कोपको तुलनामा सय गुणा थप शक्तिशाली र संवेदनशील रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।