काठमाडौं–बौद्धस्थित होटल लुङतामा जेठ २९ गते सामूहिक बलात्कारमा संलग्न भएको अभियोग लागेका तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
उक्त दिन दरबारमार्गबाट घर पुर्याउने भन्दै बौद्ध पुर्याएर एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग लागेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतको असार २७ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो।
थुनामा पठाइएकाहरुमा सिन्धुपाल्चोक मेलम्ची २ घर भई काठमाडौं महानगरपालिका ६ बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही बागमती नगरपालिका ४ घर भई काठमाडौं महानगरपालिका ६ बस्ने ३४ वर्षीय उत्तम लामा र सोही ठाउँ बस्ने २४ वर्षीय रितेश लामा छन्।
गेस्टहाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पा भने अदालतले १० लाख धरौटीमा तारेखमा रिहा भएका छन्।
घटना के थियो?
जेठ २९ गते बिहान पौन ४ बजेतिर एक महिलाले प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै आफू सामूहिक बलात्कारको शिकार भएको बताएकी थिइन्। बौद्धस्थित होटल लुङ्तामा आफू बलात्कृत भएको बताएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो।
प्रहरी घटनास्थल पुग्दा आरोपित फरार भइसकेका थिए। प्रहरीले होटल सञ्चालक सिन्धुपाल्चोक भोटेकोशीका ३४ वर्षीय आङनिमा भनिने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेर अनुसन्धान अघि बढायो।
उनी पक्राउ परेपछि सिसी टिभी फुटेजको माध्यमबाट बलात्कारमा संलग्न भएको आरोप लागेका तीन जनालाई प्रहरीले १६ घण्टा नबित्दै पक्राउ गर्याे।
यो समूहले दरबारमार्गको एक रात्री क्लबमा चिनजान भएकी २४ वर्षीया युवतीलाई दरबारमार्गबाट बौद्ध लगेर बलात्कार गरेको थियो।
बलात्कार आरोपमा पक्राउ परेकाहरु जेठ २८ गते राति बौद्धबाट दरबारमार्ग गएका थिए। उनीहरु मधुशाला दोहोरी साँझमा मदिरा सेवन गरेपछि किङग्स लाउन्जमा गएका थिए। उक्त लाउन्जमा बलात्कारको शिकार भएकी युवतीसँगै अर्की युवतीसँग उनीहरुको चिनजान भएको थियो।
ती मध्येका बलात्कारमा परेकी युवतीलाई तीन जनाको समूहमध्ये एक जनाले घर छाडिदिने भन्दै मोटरसाइकलमा लिएर हिँडे। तर, माछापोखरी बस्ने युवतीलाई ती युवकले बौद्ध पुर्याएकाे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
त्यसपछि ती युवकले आफूसँगै दरबारमार्ग पुगेका दुई जनालाई पनि बोलाए। उनीहरु लुङ्ता गेष्टहाउसमा एक वटा कोठा लिएर बसे। सोही गेष्ट हाउसमा उनीहरु तीनै जनाले ती युवतीलाई सामूहिक बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।