काठमाडौं–एक १७ वर्षीया किशोरीलाई टिप्परभित्र जबर्जस्ती करणी गरी फरार भएका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको गौरीशंकर ८ घर भएका रा १ ख २७३४ नम्बरको टिप्परका चालक ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन्।
घटना विवरणअनुसार गौशालामा काम गर्दै कलेज पढ्ने १७ वर्षीया किशोरी सोही टिप्परमा चढी दाेलखाबाट काठमाडौं आएकी थिइन्। काठमाडौं आइपुगेपछि चालक नेपालीले तेल हाल्न जाउँ, पछि गौशालामा ल्याइदिन्छु भनेर बहाना बनाई थानकोट पुर्याए। त्यहाँ आयल निगमको डिपो जाने बाटोमा छेउमा टिप्पर पार्किङ गरी सहचालकलाई टायर चेक गर्न बाहिर पठाए। सोही मौकामा राति १०.१० बजेको समयमा गाडीको ढोका बन्द गरी जबर्जस्ती करणी गरी अभियुक्त नेपाली टिप्परसमेत छाडी फरार भए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको कमाण्डमा गएको प्रहरी टोलीले पीडित बालिकालाई उद्धारगरी स्वास्थ्य परीक्षणका लागि प्रसूती गृह थापाथली पठायो।
चालक नेपालीलाई भने २५ असारको बिहान ३.३५ बजे कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपालीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थपगरी मुलुकी फौजदारी संहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।