आगामी भदौ १० बाट चलचित्र ‘प्रकाश’ प्रदर्शनमा आउँदै छ। ‘आईएम सरी’ बाट निर्देशनमा डेब्यु गरेका दिनेश राउत नै यो फिल्मका निर्देशक हुन्। उनले पछिल्लो समय यर्थाथपरक फिल्म निर्देशन गरिरहेका छन्। राउतकै निर्देशनमा बनेर सन् २०१८ मा प्रदर्शनमा आएको ‘प्रसाद’ले बहस नै सिर्जना गरेको थियो। प्रदर्शनको संघारमा रहेको ‘प्रकाश’लाई लिएर पनि राउत उत्साहित छन्। यो फिल्ममा उनले प्रायः प्रेम केन्द्रित फिल्ममा अभिनय गर्ने प्रदीप खड्कालाई फरक अवतारमा प्रस्तुत गरेका छन्। निर्देशक राउतसँग फिल्म ‘प्रकाश’को सेरोफेरोमा रहेर नेपाल लाइभका लागि युवराज भट्टराईले गरेको संवाद:
‘प्रकाश’ प्रदर्शनको संघारमा छ, कस्तो अपेक्षा गर्नुभएको छ?
एक हदसम्म मैले फिल्मलाई लिएर राम्रै अपेक्षा गरेको छु। प्रचार सामग्री आएपछि फिल्मको पोस्टर, लुक्स, कलाकारको चरित्र, मुख्य कलाकारदेखि चरित्र केन्द्रित भएर गरिएको कामलाई लिएर पाएको सकरात्मक प्रतिक्रियाले पनि उत्साहित छु। यो किसिमको फिल्म पनि व्यवसायिक हिसाबमा सफल हुन सक्छ भन्ने अपेक्षा गरेको छु।
‘प्रकाश’को टिजर तथा पोस्टरबाट यो अन्य फिल्मभन्दा फरक भएको अनुमान गर्न सकिन्छ। यसो गर्दा हलमा नचल्ने जोखिम हुँदैन?
हाम्रोमा मुख्य समस्या नै यही हो। केलाई व्यावसायिक फिल्म भन्ने र केलाई नभन्ने? फिल्मलाई हलमा प्रदर्शन गरेपछि त्यो त व्यापारिक भइगयो। तर, हामीले गाउँको कथालाई उठाउँदा वा यथार्थवादी भएर कथा भन्न खोज्दा ‘अर्को धारको फिल्म भयो’ वा ‘कमर्सियल भएन’ भनेको सुनिन्छ। म यो कुरामा समर्थन गर्दिनँ। यो फिल्म पनि कमर्सियल नै हो। यसको कथा जुम्लाको होला, पात्र त्यहाँको होला, प्रस्तुतीकरण फरक ढंगको होला। तर, फिल्म कमर्सियल होइन भन्न मिल्दैन।
दर्शकको स्वाद कस्तो छ भन्ने कुरा हामी फिल्मकर्मीहरूले सोच्ने हो। दर्शकले जुन हिसाबको फिल्म रुचाइरहेका छन्, त्यही रुपमा हामी जानुपर्छ वा त्यसरी नै गएमा मात्रै जोखिम हुन्न भन्ने कुरा मलाई असहज राख्छ। दर्शकको स्वादअनुसार मात्र गरिन्थ्यो भने यो फिल्म नै बन्दैन थियो होला। दर्शकको स्वादभन्दा फरक किसिमको फिल्म बनाएर दर्शकलाई यसको बानी पारेर हाम्रो आफ्नो कथा भन्नुपर्छ भन्ने लागेर ‘प्रकाश’ बनाइएको हो।
हामी विशेष गरी बलिउड प्रभावित भएर त्यस किसिमका फिल्म खोजिरहेका छौँ र त्यस्ता फिल्मलाई हाम्रो मानिरहेका छौँ। तर, हाम्रो कथा त्यो होइन। हाम्रो आफ्नो फिल्मको परिचय खोज्दा ‘प्रकाश’जस्ता फिल्महरु बनेका हुन्। यस्ता फिल्मलाई मूलधारको बनाउनु पर्छ र यसलाई कमर्सियल रुपमा पनि सफल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो।
‘प्रकाश’मा नेपाली फिल्ममा सामान्यता नदेखिएको वा नदेखाइएको पश्चिम भेगलाई समेटिएको छ। तपाईं आफ्नो कथा भन्न किन पश्चिमतर्फ जानुभयो?
हामीले आफ्नो फिल्म बनाउन खोज्दा, आफ्नो भूगोलमा, आफ्नो कथामा, आफ्नो पात्र लिन खोज्दा पश्चिम पुगिएको हो। त्यो क्षेत्रमा पुग्नुको पछाडि केही न केही कारण त अवश्य छ, जुन फिल्ममा पनि देखिने छ। हामीले निम्न वर्गीय पात्रलाई लिएर काम गरिरहँदा त्यहाँ भूगोलको हिसाबले पनि कति कठिन छ, त्यहाँको समस्या कस्तो छ? भन्ने कुराहरुले भूमिका खेलेको छ। तर, नेपालका अन्य ठाउँमा पनि गरिबीका कारण जीवनयापनमा कठिनाइ छ। ‘प्रकाश’का लागि पश्चिमकै भूगोल छान्नुमा त्यहाँको कष्टकर जीवन संघर्षसँगै अन्य विषय पनि छन्, जुन फिल्ममा देखिनेछ।
प्रदीप खड्का एक किसिमको भूमिकामा देखिएका कलाकार थिए। अर्कातिर, फरक भूगोलमा पुर्याउनुभयो। कलाकारलाई फरक भूमिका र भूगोलमा काम गराउँदाको अनुभव कस्तो रह्यो?
प्रदीपले गरिरहेको काम र विधा झट्ट हेर्दा र जुन किसिमको फिल्ममा उनले सफलता पाएका छन्, त्यो आधारमा उनले यस्तै फिल्म गर्नुपर्छ भन्ने बुझाइ आम मान्छेमा होला। तर, प्रदीपसँग काम गर्दा उनलाई फरक काम गर्नुपर्छ भन्ने हुटहुटी भएको पाएको छु। मेरो मात्रै सोच भएको र प्रदीपमा यस्तो काम गर्ने सोच नभएको भए ‘प्रकाश’ जस्तो फिल्म र भूमिकामा उनी तयार नै हुँदैन थिए होलान्। उनको रुची र पात्रकेन्द्रित काम गरेर राम्रो कलाकारको रुपमा स्थापित हुनपर्छ भन्ने बुझाइ भएकाले नै काम गरिएको हो।
जुम्लाको भूगोलमा ४२ दिनसम्म छायांकन गरेर काम गर्दाको कठिनाइ त थुप्रै थिए। त्यहाँ हामीलाई बस्नका लागि होटेलसमेत थिएन। हामीले स्थानीयको घरमा बास मागेर बसेका थियौं। बासस्थानदेखि प्राविधिक कुराहरुमा निकै कठिनाइ थियो।
‘प्रकाश’ कस्ता दर्शकका लागि बनेको फिल्म हो?
‘प्रकाश’ फिल्म हेर्ने सम्पूर्ण दर्शकले हेर्ने फिल्म हो। यो वर्गले हेर्नुपर्छ वा यो वर्ग केन्द्रित भएर फिल्म बनाएको भन्ने नभएर फिल्म हेर्न रुचाउने सम्पूर्णले हेर्न मिल्छ।
नोभेम्बर रेनबाट प्रकाशसम्म आइपुग्दा तपाईंले निर्देशन गर्ने फिल्मको प्रस्तुति शैली परिवर्तन भएका छन्। विधाका रुपमा पनि तपाईंको काम फेरिएको छ। बढी यथार्थपरक फिल्ममा केन्द्रित हुनु भएको छ। किन यसरी बद्लिनुभयो?
त्यसरी भन्नुभन्दा पनि म अहिले आफूलाई अलि परिपक्व भएको महसुस गरेको छु। सिनेमा बुझ्दै जाँदा सिक्दै गइयो, धेरै कुरा थाहा पाइयो। फिल्म भनेको एउटा सोचमा बन्ने कुरा हो। सोचमा परिवर्तन आउँदा काममा पनि परिवर्तन देखियो। काम गर्दै जाँदा आउने परिपक्वता त छँदै छ। त्यो हिसाबमा मैले गरिहेको काम परिवर्तन भएको हो जस्तो लाग्छ। बुझाइअनुसार परिपक्वता आउँदा काममा पनि बढी जिम्मेवार देखिएको छु जस्तो लाग्छ।
सुरुवाती समयमा मैले गरेका फिल्महरु हेर्दा किन बनाएँ भन्ने त लाग्दैन। तर, ती फिल्म गर्दा आफूले ती विधामा पनि कत्तिको जिम्मेवार भएर काम गरेँ, कति न्यायपूर्ण रुपमा प्रस्तुत भएँ भन्ने कुरा सोच्छु। ती फिल्ममा अहिलेको बुझाइ अनुसार काम भएको भए थप राम्रो हुन्थ्यो भन्ने लाग्छ।
यो वर्ष प्रदर्शनमा आइरहेका फिल्महरू सबै फरक खालका छन्। यसले फिल्म बनाउने शैली फेरिँदै गएको बुझिन्छ। के अब यथार्थपरक फिल्मको संख्या वृद्धि भएको हो?
अहिले एकसाथ यी फिल्महरू आउनु एउटा संयोग हो। कोरोना महामारीका कारण फिल्महरू लामो समयसम्म बन्न पाएनन्। त्यसअघि बनेका फिल्म र कोरोनापछि बनेका फिल्म एकसाथ प्रदर्शनमा आउँदा हामीलाई फरक किसिमका फिल्म धेरै बनेका हुन् कि जस्तो लागेको हो। तर, विगतका वर्षहरुमा पनि यस्ता फिल्म दुई/तीन वटाको संख्यामा बनिरहेका थिए।
तर, व्यापारिक सफलता हासिल नभएसम्म दर्शकमाझ स्थापित हुन सकिँदैन। यस्ता फिल्महरुले पनि व्यापारिक सफलता हासिल गरे मात्रै यी विधा र यस्तो प्रस्तुतिका फिल्महरु स्थापित हुन्छन्। फिल्मकर्मीहरुको व्यक्तिगत कोसिस हो यो। तर, यो कोसिसले निरन्तरता पाउनका लागि फिल्मको व्यापारले महत्त्व राख्छ। त्यसैले, फिल्मको व्यापारिक सफलता भए मात्रै हामीले यस्ता फिल्म स्थापित भएका छन् भन्ने सकिएला।
नेपालमा फिल्महरु दर्शकबाट निर्देशित भएर बनिरहेका हुन्छन्। अधिकांश फिल्मकर्मीले आफूले कस्तो बनाउने भन्दा पनि बजारमा कस्तो चलिरहेको छ भन्ने विषय ध्यानमा राखेर फिल्म बनाइरहेका हुन्छन्। त्यसैको परिणाम हामीले देखिरहेको हो। तर, आफूले गरेको काममा आत्मविश्वास भए बजारमा चलेका फिल्मतर्फ दौडनु पर्दैन, फरक गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।