काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा आम्दानीभन्दा मूल्यवृद्धि धेरै बढेको देखिएको छ। यस अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो। यस वर्ष मूल्यबृद्धि केन्द्रीय बैंकको लक्ष्यभन्दा पनि बाहिर पुगिसकेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महँगीको दर तलब तथा ज्यालाको दरभन्दा पनि धेरै बढेको छ। २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५० प्रतिशतले बढेको छ। तर, महंगी यो भन्दा धेरै छ। जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ। २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ।
२०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ।
यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो।
२०७९ जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.०० प्रतिशत रहेको थियो। २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ९.२६ प्रतिशत रहेको छ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.८४ प्रतिशत, १५.३४ प्रतिशत र ७.८३ प्रतिशत रहेको छ। जेठमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।