रिब्दीकोट– पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ।
अभिभावकविहीन कतिपय बालबालिकाले माध्यमिक तहसम्मको अध्ययन पनि पूरा गर्न नसक्ने अवस्था देखिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो। शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको हो।
शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था गर्न लागेको छ। अभिभावक गुमाएकै कारण आर्थिक बोझले शिक्षाबाट वञ्चित रहेकालाई पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताए।
अभिभावक गुमाएका तथा अभिभावक हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरी कक्षा छाड्न बाध्य हुने गरेका छन्। विशेषगरी छोरा रोजगारीका लागि जाने तथा छोरी आफन्तकहाँ आश्रय लिनुपर्ने अवस्था छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ। तथ्याङ्क सङ्कलन भएपछि काम अगाडि बढ्ने अर्यालले जानकारी दिए।
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा गापास्तरीय एक नमूना विद्यालय निर्माण गरिने विषय समेटेको छ। हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकामा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन अंग्रेजी र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्बन गरिने विषय पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ।
गाउँपालिका भित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको सङ्ख्या बढाउन शिक्षालाई गुणस्तरीय र शिक्षकको मनोबल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने नीति गाउँपालिकाको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।