काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् नवराज सिलवालले अहिले नेपाल प्रहरीलाई हतियार किन्नु राष्ट्रघात भएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको सुरुमै सभामुखसँग समय लिएर बोलेका उनले अर्थतन्त्र तहसनहस भएको बताए। 'अर्थमन्त्रीले राजीनामा दिएर जाँदै गर्दा ८४ करोड रुपैयाँ बराबरको रकमान्तर गरिकन नेपाल प्रहरीलाई हतियार किन्नका लागि रकमान्तर गरेर जानुभएको भन्ने खबर बाहिर आएको छ। यो राष्ट्रघात हो। आज मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा छ', उनले भने।
उनले रकमान्तर गरेर हतियार खरिद गर्ने र लाभ कमाउने योजना ल्याइएको भन्दै प्रतिपक्षमा रहेको नेकपा एमाले विरोध गर्ने बताए।
'अहिले नेपाल प्रहरीलाई यो ढंगको हतियार आवश्यक छ कि छैन? यहाँ विचौलिया र राजनीतिक शक्तिमा रहेका मान्छेहरुलाई पैसा चाहिने गर्छ, त्यतिबेला हतियार काण्ड घट्ने गर्छ। विगतमा पनि यस्तो घटना घट्ने गरेको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।