काठमाडौं– संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोप लागेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार जेल चलान भएका छन्। वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई सशस्त्र प्रहरी विशेष अदालतले पुर्पक्षका लागि जेल पठाएको हो।
उनले संगठनको गोप्य सूचना तथा जनशत्ति सम्बन्धी विवरण संचार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोप छ।
संगठनको गोप्य र संवेदनशील सूचना भाइबरलगायत सामाजिक संजालमार्फत संचारमाध्यमलाई उपलब्ध गराउने गरेको तथा संगठन विरुद्ध बेनामी उजुरीसमेत हालेको उनीमाथि आरोप छ।
साहु २५ नम्बर चण्डिका गण हेडक्वाटर, पर्वत दरबन्दी भई ४४ नम्बर गण हेडक्वाटर दार्चुलामा कार्यरत थिए। उनले सशस्त्र प्रहरी ऐन तथा नियमावलीको बर्खिलाप गरेको पाइएपछि पुर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ।
असार २४ गतेको थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। आरोप प्रमाणित भए उनलाई सर्वस्वसहित जन्मकैद हुनसक्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।