काठमाडौं– रौतहटमा चार वर्षीया बालिका अपहरणमा परेकी छिन्। अपहरण गरेर २० लाख फिरौती माग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
असार २३ गते साँझ आफ्नै घरअगाडि खेल्दै गरेकी बालिका एक्कासी बेपत्ता भएकी थिइन्। बालिका बेपत्ता भएको केही समयपछि नै अपरिचित नम्बरबाट पीडितको आफन्तलाई फोन गर्दै अपहरणको जानकारी दिइएको थियो।
फोनमा ती व्यक्तिले आफूले बालिका अपहरण गरेको र २० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिएका थिए। ‘छोरी बचाउन मन छ भने २० लाख रुपैयाँ लिएर राजपुर नगरपालिकाको इद्रिश गेटमा आउनु, घटनाको बारेमा प्रहरीलाई खबर नगर्नु र रकम नल्याए छोरीको हत्या गर्ने’ भन्दै अपहरणकारीले फोनमा धम्की दिएका थिए।
अपहरणमा परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली बालिकाको उद्धार र अपहरणकारीको खोजीमा लागेको थियो। प्रहरीले अपहरणकारीले भनेको स्थान वरपर गएर खोजी सूरु गरेको थियो।
अपहरणकारीले बहुअर्वा मदर्सा अगाडिको सडक छेउमा रहेको गुम्ती पसल नजिक बाँसले बनाएको खाटमा सुताएर बालिकालाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो।
अपहरणकारी रौतहटको ईशनाथ नगरपालिका–७ का २४ वर्षीय महमद अविर हुसैनलाई बिआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेका हुसैनविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।