काठमाडौं– जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई सात वर्ष र हाेटल सञ्चालकलाई साढे तीन वर्ष कैद सजाय हुने फैसला गरेकाे छ।
बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले बताए।
अदालतले गुर्भाकोट नगरपालिका स्थायी घर भएका चौमनबहादुर घर्ती, भूपेन्द्र बुढालाई याैन दुर्व्यवहारमा दोषी ठहर गरेको हो। उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार दोषी ठहर गर्दै ७/७ वर्ष कैद २/२ लाख जरिवाना भराउने फैसला गरेको हो।
यसअघि जिल्ला अदालतले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। होटल सञ्चालक मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालक पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई २०७८ जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो।
सरकारी वकिलले उनीहरूविरूद्ध मानव ओसारपसार, यौन दुब्र्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।