काठमाडौं– चेक चोरेर २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको आरोप लागेका सुभास भेटवाल पक्राउ परेका छन्।
प्रहरी वृत्त बौद्धको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। भेटवाललाई आपराधिक विश्वासघातकाे कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनी आपराधिक विश्वासघातकाे कसुरमा पक्राउ पूर्जी जारी भएपछि फरार हुँदै आएका थिए। जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले उजुरी दिएका थिए।
सोही प्रकरणमा उनीविरुद्ध आपराधिक विश्वासघातकाे कसुरमा पक्राउ पूर्जी जारी भएको थियो। गत असोजमा बराल, भेटवाललगायत ४/५ जना तास खेलेर बसेका थिए।
बरालले उनीहरुसँग मदिरा पिउँदै तास खेले। त्यसपछि उनी घर लागे। भोलिपल्ट हेर्दा उनको झोलामा रहेको बैंक अफ काठमाण्डू कमलादी शाखाको ७ थान चेक चोरी भएको थियो। त्यसपछि चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्र र परिसर टेकुमा उजुरीसमेत दिए। बैंकलाई भनेर चेक ब्लक गर्न लगाए।
बरालको निवेदन परेपछि परिसर काठमाडौंले भेटवाललाई टेकु बोलाएको थियो। भेटवालले उक्त ७ थान चेकमा जम्मा २ करोड २९ लाख रुपैयाँ रकम भरेको विषय सार्वजनिक भयो। भेटवालले भने तास खेल्ने क्रममा उक्त चेक बरालले दिएको दाबी गरेका थिए।
उक्त चेक महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष असोज २५ गते दाखिला गरिएको थियो।
एसएसपी सिंहको सरुवा भएपछि पीडितको जानकारी बिना नै भेटवाललाई प्रहरीले चेक फिर्ता दिएपछि यो विषय सार्वजनिक भएको थियो। उता घटनाको करिब ९ महिनापछि भेटवाल भने पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।