काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको छ। पीएसजीले १८ महिनाको जिम्मेवारीपछि उनलाई बर्खास्त गरेको हो।
अर्जेन्टाइन प्रशिक्षक पोचेटिनोको सम्झौता २०२३ मा सकिँदै थियो। पीएसजीले ट्वीटरमा एक विज्ञप्तिमा भनेको छ,‘पोचेटिनोले क्लबमा आफ्नो भूमिका समाप्त गरेका छन्। पोचेटिनो र उनका कर्मचारीहरूलाई धन्यवाद। भविष्यको लागि शुभकामना।’
पोचेटिनो टोटनहमका पूर्वप्रशिक्षक समेत हुन्। उनलाई टोटनहमले जिम्मेवारी दिएको पाँच वर्षपछि बर्खास्त गरेको थियो।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई जिम्मेवारी दिएको थियो।
पोचेटिनो पीएसजीमा अनुबन्ध भएपछि क्याटलान क्लब बार्सिलोनाबाट लिओनल मेसी पीएसजीसँग जोडिएका थिए।
पोचेटिनो प्रशिक्षणमा २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो। पोचेटिनोको कार्यकालमा पिएसजीले ८४ खेल खेलेको थियो।
तर, नेयमार जुनियर, मेसी र केलियन एमबाप्पे जस्ता स्टार लाइनअप भए पनि क्लबलाई च्याम्पियन्स लिग ट्रफी जिताउन भने सकेनन्।पछिल्लो केही वर्षयता युईएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पीएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।