काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको शल्यक्रिया भएको छ।
ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उनको घाँटीमुनिको बायाँ हड्डीको सोमबार राति शल्यक्रिया गरिएको थियो।
एसियन कपको तयारीका लागि बन्द प्रशिक्षण रहेकी उनको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा प्रशिक्षणका क्रममा लड्दा घाँटीमुनिको बायाँ हड्डी (ब्युटी बोन) भाचिँएको थियो।
सोमबार सफल शल्यक्रिया भए पनि रेनुका कति समय आराममा रहने भन्ने कुरा अहिल्यै भन्न नसकिने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए।
‘हिजो बेलुका नै रेनुकाको सफल शल्यक्रिया सम्पन्न भयो। तर, कति समय आराम गर्नुपर्छ भन्ने कुरा अहिल्यै भन्न सकिने स्थिति छैन। चिकित्सकले भोलि या पर्सिमा भन्नुहुन्छ होला,’ उनले भने।
यद्यपि, रेनुकाले भदौं १३ देखि २५ सम्म नेपाल आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना प्रवल छ। रेनुका नेपाली महिलासँगै विभागीय टोली एपीएफकी कप्तानसमेत हुन्। उनी सन् २०१० देखि नियमित नेपाली महिला फुटबल टोलीकी सदस्य रहँदै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।