काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सन् २०२३ को साफ च्याम्पियनसिप ‘होम एन्ड अवे’ आधारमा लिग ढाँचामा आयोजना गर्ने तयारी गरेको छ।
बंगलादेश फुटबल महासंघका अध्यक्ष काजी सलाहुद्दिन लगातार चौथो पटक साफ अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि दक्षिण एसियाली फुटबलको प्रशासकीय निकायको सचिवालयले यस विषयमा छलफल गरेको हो।
नयाँ योजना अनुसार प्रत्येक सात टोलीले दुई–दुई पटक खेल्नेछन् र सबैभन्दा बढी अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ। एक मार्केटिङ एजेन्टले ढाँचा परिवर्तन गरी ‘होम एन्ड अवे’ मा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि साफ सचिवालयलाई प्रस्ताव गरेको थियो। यसबारे विचार गरिरहेको साफका महासचिव अनवरुल हक हेलालले बताए।
‘एउटा मार्केटिङ कम्पनीले साफ च्याम्पियनसिप र साफ क्लब च्याम्पियनसिप दुवैका लागि होम एण्ड अवे गर्न प्रस्ताव गरेको थियो। यो प्रस्तावलाई सदस्य राष्ट्रलाई पठाउने छौं, सबैले यो प्रस्तावमा सहमति जनाए अगाडि बढ्छौं,’ हेलालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।