काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीले प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन्।
नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदोन्नती भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै गृहमन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।
‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई,’ गृहमनत्री खाणले भने, ‘नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं।’
प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सिमित स्रोत साधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
गृहमन्त्री खाणले अहिले प्रहरी नायब महानिरीक्षक भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्य सम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोशिस गर्न पनि निर्देशन दिए।
उनले बढुवाका लागि भन्दा पनि उत्कृष्ट कार्य सम्पादनका लागि प्रतिष्पर्धा गर्न पदोन्नती भएको अधिकृतहरूलाई निर्देशन दिए। नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको उनको भनाइ थियो।
अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ जनामध्ये चार महिला छन्। किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।