काठमाडौं– सर्वोच्च अदालतले आईजीपी विवादमा अर्को पेसी असार २६ गतेका लागि तोकेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दामा उक्त दिन अन्तिम बहसको पेसी तोकिएको हो।
सर्वोच्चले २३ सम्म बहस नोट बुझाउने र २६ गते पेसी राखेर अन्तिम सुनुवाई सक्दै फैसला सुनाउने समय तोकेको हो। केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ।
आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।
आइतबार सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।