काठमाडौं– झापाको विर्तामोड नगरपलिका–७ की करूणा तामाङको परिवार ताप्लेजुङबाट झापा बसाइँ सरेको ३५ वर्ष भयो। उनको परिवार झापा आएदेखि एकै ठाउँमा निरन्तर बसिरहेको छ। बस्नलाई त्यो ठाउँ रोज्नुको मुख्य कारण थियो– नजिकको देउनीया खोला र खोलापारि जंगल। खोलो नजिकै भएकाले बालीमा सिचाइ गर्न र जंगलबाट घाँस–दाउरा ल्याउन उनीहरूलाई सहज भएको थियो।
करूणाको परिवार ताप्लेजुङबाट झापा बसाइँ सर्नुका केही कारण थिए। जसमध्ये प्रमुख कारण जंगली जनावरको ‘पीर’ नै थियो। ‘पहाडमा ठूलो परिवार थियो। तमोर खोला किनारमा बेंसी खेत थियो। थोरै उब्जनीले वर्षभरि खान धौधौ हुने’, उनी भन्छिन्, ‘त्यसमाथि अन्नबाली नरुङ्गे बाँदर, घोरल र ढेडूले एक गेडा भित्र्याउन दिँदैन थियो।’
आधारभूत आवश्यकताको अभाव, पहाडको जमिनमा हुने कम उब्जनी, त्यही पनि जंगली जनवारले सखाप पारिदिने हुँदा करूणाको परिवार ‘सुख खोज्दै’ झापा झर्यो। झापा झरेपछि उनको परिवारले पानी र घाँस दाउराको खासै समस्या भोग्नु परेन। उनी भन्छिन्, ‘उत्पादन पनि धेरै हुने। घाँस, दाउराको र पानीको पनि चिन्ता रहेन।’
तर, जनावरले दिने दुःख भने झापा झर्दा पनि कम भएन। बरु बढ्यो। उनी भन्छिन्, ‘पहाडमा बाली मात्रै नष्ट गर्ने जनवार थिए। तर, झापामा हाम्रो परिवारले बालीमा मात्रै होइन, बस्तीमै अक्रमण गर्ने हात्तीको समेत सामना गर्नुपर्यो।’
हात्ती मात्र नभइ जंगलबाट हरिण, मृग आएर लगाएको बाली सबै खाने, बिगार्ने गरेको उनी सुनाउँछिन्।
करुणाका अनुसार ८/१० वर्षअगाडिसम्म हात्तीको पीर खासै हुँदैनथियो। उनी भन्छिन्, ‘कहिलेकसो हात्ती आउँथ्यो। तर, गाउँले मिलेर होहल्ला गरेपछि जंगलतिरै जान्थ्यो। तर, अरु जनवारले अलि धेरै नै दुःख दिथे। मानिसलाई जनवारबाट आक्रमण भने नगन्य हुन्थ्यो।’
कररुणाले ५/७ वर्षअगाडिसम्म हात्तीले मान्छे मारेको, नियमित हात्ती आएको समाचार सुन्ने गरेको बताउँछिन्। ती स्थान भारतको सीमावर्ती क्षेत्र हुन्। करुणाको घरबाट पूर्वतिर पर्छन्।
‘हात्ती शान्तिनगर, बाहुनडाँगी, खुदुनाबारीतिर दिनै आएर, मान्छे मारे रे भन्ने सुन्ने गरेका थियौं’, उनी भन्छिन्, ‘तर, पछि पछि भने हाम्रै गाउँतिर नियमित जस्तै देखिन थाल्यो।’ कहिले एक्लै, कहिले समूहमै हात्ती आउन थालेपछि गाउँलेले सतर्कता बढाउन थालेको करुण बताउँछिन्।
तर पनि खाँस–दाउराका लागि घर नजिकको जंगल जानुको विकल्प थिएन। यसरी घाँस–दाउरा गर्ने क्रममा एक दिन करुणाकै समूहका एक पुरूषलाई हात्तीले लछारपछार पार्यो। निमेषभरमै आँखै अगाडि ती पुरुषको मृत्यु भयो। करुणसहित उनको समूहमा रहेका अन्य त्यहाँबाट फुत्के।
उनी भन्छिन्, ‘घाँस दाउरा काट्दै थियौं। छ्यास्राक्क गर्यो। यसो पछाडि हेर्दा त सँगैको साथीलाई पचास मिटर पर हुत्याएछ। हामी त डोको छोडेर रुँदै कुद्यौं।’
त्यसपछि उनीहरू केही दिन घाँस–दाउरा गर्न जंगल नै गएनन्। तर, जंगल नजानु नै समाधान थिएन। जंगलमा हात्ती नरहेको यकिन गर्ने अनि मात्र जंगल जाने गर्न थाले। हात्तीसँग उनीहरूको जम्काभेट भने बढ्न थाल्यो।
विस्तारै जंगलसम्म आउने हात्ती अब भने करुणाको गाउँमै आउन थाल्यो। जंगल छिचोलेर हात्ती गाउँ पस्न थालेपछि गाउँमा त्रास बढ्न थाल्यो। ‘हात्तीले कहिले घर फोरेर धानका बोरा, कहिले जाँडको घ्याम्पो खाने त कहिले बालीको बिगार गर्न थालेपछि गाउँमा त्रास बढ्न थाल्यो’, उनी भन्छिन्।
एक दिन पुनः जंगलमै भएको घटना दोहोरियो। तर, स्थान थियो करुणाकै घरअगाडिको सडक। ‘साउनको दिन थियो। खेतमा काम गरेर घर फर्किँदै थियौं। छिमेकी दाईलाई हात्तीले समातेर पछार्यो’, उनी भन्छिन्, ‘ठाउँको ठाउँमै त्यो दाईको प्राण पखेरु उड्यो।’
केही समयको अन्तरालमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि गाउँलेहरु थप सशंकित बन्न थाले। करुणा पनि गम्भीर रुपमा विक्षिप्त भएकोे बताउँछिन्। ‘म त सपना पनि हात्तीकै देख्न थालेँ। तीन वटा गाई थिए। दुई वटा बेचिदिएँ। एउटालाई यहीँ बारीमा घाँस रोपेर पाल्ने निधो गरेँ। जंगल नै जान छाडिदिएँ’, उनी भन्छिन्।
उसो त करुणाको अन्नबाली, टहरो, कटेरो हात्तीले भत्काएर क्षति पुर्याएको थियो। त्यसमाथि हात्तीसँगको जम्काभेटमा मृत्युको मुखबाट बाँचेकी करुणा अहिले दिग्दार देखिन्छिन्। जंगल जान छाडेकी उनी यो ठाउँ नै छाडेर कतै जान पाए हुन्थ्यो भन्नेमा छिन्।
‘ताप्लेजुङमा पनि जनवारले बस्न खान दिएन। यहाँ त कतिखेर ज्यान जान्छ टुंगो छैन’, उनी भन्छिन्, ‘जंगली जनवारको दुःखले गाउँमा मान्छेले गाईवस्तु पाल्न छाडेका छन्।’
हात्तीको पीरले परिवार अब उक्त ठाउँमा बस्न नसक्ने अवस्थामा रहेको उनी बताउँछिन्। बुढेसकाल लागेसँगै यो स्थान छोडेर सहरतिर सर्ने सोचिरहेको करुणाले बताइन्। उनका कतिपय छिमेकी त सहरतिर बसाइँ हिँडिसकेका पनि छन्। ‘३५ वर्षअगाडि ताप्लेजुङबाट हिँन्दा पनि जनवारकै पीर थियो। यहाँबाट पनि जनवारकै कारण छोड्नुपर्ने भयो’, उनले भनिन्।
तर, यो स्थान छोडेर अन्यत्र सर्न उनको परिवारलाई सजिलो छैन। पहिलो त, बसोबास गरिहेको ठाउँको जग्गा बिक्री हुनुपर्यो। तर, हात्तीलगायत जंगली जनावरको पीर छ भनेर होला यो स्थानमा बिरलै मात्र जग्गाको कारोबार हुने गरेको करुणाको दुःखेसो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।