काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ। उक्त बत्ती बिहीबारदेखि सञ्चालनमा आएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका–३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी उक्त ट्राफिक बत्ती जडान गरि सञ्चालनमा ल्याएको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त नयाँ ट्राफिक बत्तीको उद्घाटन गरे। एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए।
कार्यक्रममा ललितपुर महानगरपालिका–३ कार्यालयका वडाअध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको बताए। उनले सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने बताए।
हाल काठमाडौं उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।