काठमाडौं– निर्देशक दीपेन्द्र के खानलको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ। निर्देशक खनालले फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्।
३३ दिनअघि सुरु भएको फिल्मको सम्पूर्ण सुटिङ मंगलबार सकिएको खनालले जानकारी दिए। सामाजिक कथावस्तुमा बनेको यो फिल्ममा घर नभएका र डेरा लगाउने घर भएकाहरुको कथा देखाइएको छ।
खनालले ‘पशुपतिप्रसाद’, ‘आमा’जस्ता प्रभावशाली फिल्मको निर्देशन गरिसकेका छन्। ‘ए प्लस इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको फिल्मको छायांकन बैशाख तेस्रो साताबाट सुरु भएको थियो।
फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउतलगायत कलाकारको अभिनय रहने छ। हास्यव्यंग्य र सामाजिक विषयवस्तु समेटिएको फिल्ममा डेरामा बस्ने घर नभएका र डेरा लगाउने घर भएकाहरु दुवै वर्गको कथालाई समेटिएको निर्देशक खनालले जनाएका छन्।
फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै भएको छ। फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको छ। फिल्ममा लगानी भने शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जनको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।