काठमाडौं– मनसुनजन्य विपत् नियन्त्रण तथा उद्धारका लागि देशभरका १० ठाउँमा सशस्त्र प्रहरी बलले तालिमप्राप्त टोलीलाई स्ट्याण्डबाइ राखेको छ। विपत् व्यवस्थापन शिक्षालय कुरिनटारबाट विशिष्टिकृत विपत् व्यवस्थापन तालिमप्राप्त टोलीलाई देशभरका १० स्थानमा स्ट्याण्डबाइ राखिएको हो।
७ वटै प्रदेश मुख्यालय, विपत् व्यवस्थापन शिक्षालय कुरिनटार र काठमाडौंमा २ गरी १० ठाउँमा टोली स्ट्याण्डबाइ राखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले जानकारी दिए।
सशस्त्रका सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोप प्रतिकार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्धार टोलीको पनि व्यवस्था गरिएको सशस्त्रले जनाएको छ। विपत् पछिको उद्धारका लागि आधुनिक सामाग्रीहरु प्रदेशस्तरीय विपत् उद्धार टिमले प्रयोग गर्ने गरि तयारी हालतमा राखिएको डीआईजी खड्काले बताए।
विपत् व्यवस्थापनसम्बन्धी विशिष्टिकृत तालिम प्राप्त नगरेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत मनसुनलाई मध्यनजर गरि बाढी, पहिरो, डुवान तथा अन्य जल उत्पन्न प्रकोपसम्बन्धी आवश्यक ज्ञान र प्रतिकार्यका लागि समय समयमा खोज तथा उद्धार लगायत समसामयिक विषय बस्तुहरुमा अनुशिक्षण तालिम संचालन गरिएको सशस्त्रको भनाइ छ।
मनसुनको समयमा हुनसक्ने सम्भावित विपत्मा प्रभावकारी कार्य सम्पादनको लागी राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र र प्रदेश विपत् व्यवस्थापन समिति, जिल्ला विपत् व्यवस्थापन समिति, स्थानिय विपत् व्यवस्थापन समिति एवं अन्य सरोकारवाला निकायहरुबीच समन्वय गर्ने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।