काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमूल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य लिएर सुरु भएको यात्रा १६ वर्षपछि ठीक विपरीत गन्तव्यमा पुगेको टिप्पणी गरेका छन्। जनता बलियो र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही सीमित राजनैतिक दलका सीमित नेताहरुले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम भएको उनले बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित प्रदेशस्तरीय स्वयंसेवक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता अत्यन्त कमजोर हुँदै गइरहेको, विदेशीहरुको चलखेल र प्रभाव तीव्र रुपले बढेको भन्दै बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा भएको बताए।
कार्यक्रममा अध्यक्ष थापाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बनाउन आवश्यक मिहिनेत र संवाद गर्न हिन भावनाबाट मुक्त भई अगाडि बढ्न बागमती प्रदेशका नेता कार्यकताहरुलाई निर्देशन दिए।
कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष माधव खत्रीले सिकेका, बुझेका कुराहरुलाई जनतासमक्ष पुर्याउन सबै जुट्नु पर्ने बताए भने प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री सुशीलकुमार श्रेष्ठले आगामी निर्वाचनलाई दृष्टिगत गरि पाँच सय स्वयंसेवक पालिकाहरुमा खटाईने बताए।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष थापाले ‘राप्रपा नेपाल किन?' तथा उपाध्यक्ष डा विष्णु भण्डारीले ‘नेपाललाई सनातन हिन्दुराष्ट्र किन नबनाउने?' भन्ने विषयमा प्रशिक्षण दिएका थिए भने प्रवक्ता सुरेश आचार्यले राजनीतिक तथा सामाजिक परिचालन र केन्द्रीय सदस्य एवं प्रशिक्षण विभागका सदस्य जीवन सुनुवारले नेतृत्व विकाससम्बन्धी तालिम दिएका थिए। तालिममा प्रदेशका १७५ जनाको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।