धनगढी– कैलालीको जंगलमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी सवार कार फेला परेको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ घर भइ आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रुपमा कार्यरत ३७ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई प्रहरीले सोमबार कैलालीको गोदावरी नगरपालिका–०४ बुढीतोला (गाइमारे)को जंगलमा हात–खुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो।
कार्यक्षेत्र डडेलधुराका लागि आइतबार प्रदेश ०३-०१-०२३ च ८७२१ नम्बरको कार चलाएर हिँडेका भण्डारीले प्रहरीलाई दिएको बयानमा भारतीय जस्ता देखिने व्यक्तिलाई आफूले पहाड (कैलालीको खानीडाँडा) जाने भनेर लिफ्ट दिएको र बुढीतोलाको उकालोमा उनीहरुले फोटो खिच्ने भनेर कार बाहिर बोलाइ गम्छा, कम्मर पेटी र डोरीले हात–खुट्टा तथा मुख बाँधेर जंगलमा छाडेर कार लगेर गएको बताएका थिए।
उनीहरुले लुटेको भनिएको कार कैलालीको गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
घटनामा संलग्न भनिएका ३ जनाको भने खोजी भइरहेको र उनीहरु फेला नपरेको प्रहरीले जानकारी दिएको छ। हात–खुट्टा बाँधिएको अवस्थामा फेला परेका कर्मचारीको बयानका आधारमा प्रहरीले ३ जनाको खोजी भइरहेको जनाएपनि कार लुटिनुको कारणबारे भने प्रहरीले कुनै 'क्लु' फेला नपरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।