काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
हेर्दा हेर्दैमा रहेको उक्त मुद्दामा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ थालेको हो। सरकारले ज्येष्ठता तथा बरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
पोखरेलले वैशाख १९ गते आफूमाथि अन्याय भएको भन्दै रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। इजलसाले मिति नै तोकेर सुनुवाइका लागि विपक्षीलाई बोलाएको थियो।
उक्त मुद्दामा जेठ १७ गते पेसी भएपनि उक्त दिन म्याद तामेली हुन नसकेपछि सरेको थियो। लगत्तै जेठ ३० गते प्रधानन्यायाधीशसहितको पुर्ण इजलासमा पेसी परेको थियो। उक्त इजलासले निरन्तर अन्तिम सुनुवाइ गरिरहेको छ। आज तेस्रो पेसी हो। हालसम्म पोखरेलका कानुन व्यवसायीले बहस गरेका छन्।
पोखरेलको वढुवा हुनुपर्ने आधार पेस गर्दै उनीहरुले सरकारको निर्णय गैरकानुनी भएकाले खारेज हुनुपर्ने जिकिर इजलासमा गरेका छन्। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरि उप्रेती, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतले असार ५ गते बहस गरेका थिए। पक्षको बहस बाँकी नै रहेपछि इजलासले सुनुवाइ हेर्दा हेर्दै राखेको थियो। पक्षका तर्फबाट बहस गर्ने अझै केही कानुन व्यवसायी रहेका छन्। सोमबार पक्षका कानुन व्यवसायीहरुले वहस समाप्त गरेमा आईजीपी सिंह पक्षका कानुन व्यवसायीले बहस गर्न समय पाउने छन्।
आफूलाई प्रहरी प्रमुख नबनाइ झण्डै डेढ वर्ष जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाएको भन्दै पोखरेलले सवोच्चमा रिट हालेका थिए।
पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर रिटमा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।