काठमाडौं– ‘करिब दुई दशक क्रिकेटकै लागि मैदानमा घुडाँ धस्नुभयो, टी–२० विश्वकप खेल्नुभयो, देशलाई ऐतिहासिक सफलता दिलाउनु भयो। तर, अहिले त्यही टोलीबाट बाहिर हुनुहुन्छ। खेल्न बोलाउँदा पनि तपाईंले अब नखेल्ने जवाफ दिएको आरोप लागिरहेको छ। यस्तो बेला कस्तो महसुस हुँदोरहेछ?’
यस्ता, प्रश्न जो कोहीले गर्दा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लको एकै वाक्यमा सरल उत्तर हुन्छ– साह्रै नरमाइलो।
उनी जति नै सरल तरिकाले यसको उत्तर दिन्छन्, त्यति नै मन गह्रुंगो बनाउँछन्। तर, त्यसलाई शब्दमा व्यक्त गर्दैनन्। न त मनभरिको पीडा आँशु बनाएर आँखाबाट छचल्किन नै दिन्छन्। उनी संयमित हुन्छन्, धीरता अपनाउँछन् र उल्टै प्रतिप्रश्न गर्छन्–एक खेलाडीले मैले खेल्दिनँ भनेर किन भन्छु होला र?
यो प्रतिप्रश्नले लाग्छ, उनी अझै मैदानमा उत्रिन हतास छन्। राष्ट्रिय टोलीमा परेर चौका–छक्का प्रहार गरिहाल्छन्। तर, नेपाली क्रिकेटमा उनले चाहेको जस्तो सहज परिस्थिति निर्माण हुन छाडिसकेको छ। पछिल्लो समय निर्माण भएको यही असहज परिस्थितिका कारण निरन्तर टोलीबाहिर परेका उनी सन्यास जीवनतर्फ धकेलिइरहेका छन्।
यूएईमा गत मार्च २१ मा भएको विश्वकप लिग–२ अन्तर्गत घरेलु टोलीसँग खेले यता ज्ञानेन्द्र राष्ट्रिय टोलीमा पर्न सकेका छैनन्। स्वदेश फर्किएलगत्तै नेपालले घरेलु मैदानमा पपुवा न्यू गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा पपुवा न्यू गिनी र मलेसियासम्मिलित टी–२० आई सिरिज खेल्ने तालिका तय थियो। त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई फरक टोली घोषणा गर्यो।
एकदिवसीय टोलीमा देव खनाल, गुल्सन झा र भीम सार्की जस्ता नयाँ खेलाडीले मौका पाए। यता, विवेक यादव, दिलिप नाथ, लोकेश बम र आदिल अन्सारी टी–२० टोलीमा परे। तर, कहिँकतै ज्ञानेन्द्र मल्लको नाम अटेन।
त्यतिबेला सबैलाई लागेको थियो– यूएई भ्रमण सकेर आएपछि बेञ्च बिलियो बनाउन र नयाँ खेलाडीलाई मौका दिन ज्ञानेन्द्रलाई आराम दिइएको होला। प्रशिक्षक पुबुदु दासानायकेले पनि त्यस्तै 'ढ्वाङ' पिट्दै हिँड्थे। उनले बारम्बार सञ्चारमाध्यमहरुसँग ज्ञानेन्द्रको बारेमा प्रश्न गर्दा नयाँ खेलाडीलाई परिपक्व बनाउन र सिनियर खेलाडीलाई अर्को महत्त्वपूर्ण खेलको लागि तयार राख्न उनलाई बाहिर राखिएको बताउँथे। तर, यूएई भ्रमण अगाडि क्यानसँग ज्ञानेन्द्रको टसलले भने यो कुरा पत्याउने आधार थिएन।
यूएई भ्रमणअघि खेलाडीको सेवा सुविधाको विषयमा सञ्चारमाध्यममा बोलेपछि क्यानले उनको कप्तानी खोसेर सन्दीप लामिछानेलाई सुम्पिएको थियो। त्यतिखेर नयाँ खेलाडीलाई क्यानविरुद्ध उक्साएको, टिमभित्र गुट जन्माएको र क्यानको अस्तित्व नै धरापमा पार्नेगरी चलखेल गर्न खोजेको आरोप उनीमाथि लागेको थियो।
ज्ञानेन्द्रमात्र होइन, उनलाई नै साथ दिएको भन्दै दीपेन्द्रसिंह ऐरीको उपकप्तानी पनि खोसियो। यता, कमलसिंह ऐरी र सोमपाल कामीसँग केन्द्रीय सम्झौता नै रद्द गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पत्र लेखेर प्रतिबन्ध लगाउनेसम्मको धम्की दिन भ्यायो क्यानले।
त्यतिबेला क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाल लाइभसँगै भनेका थिए,‘नेपालमा खेलाडी १०–१२ जनामात्रै हो त? जो निहुँ खोज्छ त्यो आफू सकिन्छ। खेलाडीको काम खेल्ने हो। क्यानको काम खेलाउने। उनीहरुलाई बाहिर राखेर हामी प्रतियोगिता खेल्छौं। तर, खुट्टा कमाउँदैनौं।’
उनीहरुलाई धम्कीकै भाषामा तह लगाउने क्यानको योजना थियो। तर, उक्त योजनाले सार्थकता भने पाउन सकेन। मैदान उत्रिनु पर्ने एक दर्जनभन्दा बढी खेलाडी ज्ञानेन्द्रसहित अन्य तीन खेलाडीलाई गरिएको कारबाहीविरुद्ध आन्दोलनमा उत्रिए। उनीहरु बन्द प्रशिक्षणमा सहभागी नहुने भन्दै होटलमा रिपोर्टिङसमेत गरेनन्।
यता, यूएई जानुपूर्व यू–१९ एसिया कपमा सहभागी हुन लागेको नेपाली जुनियर टोलीसँग अभ्यास खेल खेल्न पनि अस्वीकार गर्दिए। यो विषयले गर्दा क्यानले सर्वत्र आलोचना खेप्नु पर्यो। त्यतिमात्रै होइन, सामाजिक सञ्जालमा अध्यक्ष चतुरबहादुर चन्दको राजीनामासमेत माग्न थालियो।
दिनहुँजस्तो क्यानविरुद्ध आइरहने समाचार र नजिकिँदो प्रतियोगिताका कारण क्यानले झुकेरै भए पनि सहमति गर्ने निर्णय गर्यो। तर, ज्ञानेन्द्रसहित कारबाहीमा परेका खेलाडीहरु भने क्यानका कुनै पदाधिकारीलाई पत्याउन स्थितिमा थिएनन्।
क्यानका अधिकांश पदाधिकारीहरु चन्दपक्षकै थिए, जसले ज्ञानेन्द्रसहित तीन खेलाडीमाथि गरिएको कारबाहीलाई जायज ठहर गर्दै साथ दिरहेका थिए। अवस्था अन्योलपूर्ण बन्दै गएपछि क्यानले विवाद मिलाउने जिम्मेवारी ज्ञानेन्द्रकै प्रिय मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई सुम्पियो। उनले विवाद समाधानमा सहजीकरण गरेर अन्य खेलाडीमाथिको कारबाही फुकुवा गरे। तर, सन्दीपलाई कप्तान बनाउने निर्णयलाई पुबुदु स्वंयमले बदल्न चाहेनन्।
यता, अस्ट्रेलियामा बिग बास क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीपले पनि आफूलाई कप्तान बनाउने निर्णयलाई अस्वीकार गर्न सकेनन्। उनले अस्ट्रेलियाबाटै नेपाली सञ्चारमाध्यमहरुसँग कुरा गर्दै क्रिकेटभन्दा माथि कोही नभएको भनेर ज्ञानेन्द्रसहित अन्य तीन खेलाडीले गल्ती गरेको संकेत दिए।
यसले नेपाली क्रिकेटमा ठूलो दुर्घटना निम्त्याउने आकलन गरिएको थियो। तर, स्थितिले त्यति ठूलो रुप लिन पाएन। ढल्कदै गरेको उमेर र काँधमा ठूलो जिम्मेवारीसाथ नयाँलाई मौका दिनुपर्ने ज्ञानेन्द्रलाई बाध्यता आइलाग्दै गएको थियो। त्यसमाथि खस्किँदै गएको प्रदर्शनले पनि उनले केही समय आराम लिनुपर्ने संकेत गरिरहेको थियो। त्यसैले होला ज्ञानेन्द्र सन्दीपको कप्तानीमा मैदान उत्रिन तयार भए।
त्यतिखेर उनले भनेका थिए, ‘म सँधैभरि कप्तान बन्नुपर्छ भनेर आएको होइन र हुनुपर्छ भन्ने पनि होइन। म पहिला पनि खेलिरहेको थिएँ र अहिले पनि खेल्छु। देशका लागि खेल्छु, मेरो लागि खेल्छु। त्यो नै मुख्य उद्देश्य हो।’
उनले भनेको जस्तै कप्तानी सधैँ एक खेलाडीको हातमा मात्र हुँदैन। त्यसमाथि एकै खेलाडी टोलीमा राखिरहनुपर्छ भनेर तर्क गरिरहनु पनि गलत हो। सधैँ एकै मान्छे राष्ट्रिय टोलीमा परिरहने भए रवि शास्त्री र कपिल देवपछि विराट कोहली र महेन्द्रसिंह धोनीजस्ता विश्व प्रख्यात खेलाडीको भारतीय टोलीमा उदय हुने थिएन। उमेर, खराब लय र टोलीको आवश्यकताअनुसार खेलाडी परिवर्तन भइरहन्छन्। ज्ञानेन्द्रको हकमा भने केही कुरा फरक छन्।
क्यानसँगको टसलपछि करण र सोमपाल उच्च लयमा देखिए। तर, दुर्भाग्यवश ज्ञानेन्द्रको लय बिस्तारै खस्किँदै गयो। उनलाई टोलिबाहिर राख्न मिल्ने कारण उनी आफैंले सिर्जना गरेका हुन्। यूएई पुगेको नेपाली टोली स्वदेश फर्किएपछि ज्ञानेन्द्रको राष्ट्रिय टोलीमा यात्रा सहज बनेन। त्यसबीचमा नेपालले घरेलु मैदानमा पपुवा न्यू गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा पपुवा न्यू गिनी र मलेसियासम्मिलित टी–२० आई सिरिज खेल्यो।
यता, जिम्बावे ‘ए’सँग पनि एकदिवसीय र टी–२० सिरिज खेल्यो। यो खेलमा पनि ज्ञानेन्द्रलाई टोलीमा राखिएन। त्यसपछि हालै आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको सिरिजमा पनि ज्ञानेन्द्र अट्न सकेनन्।
अहिले यही सिरिज खेल्न नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्दै छ। त्यसअघि नेपाली टोलीले क्यानडामा दुई एकदिवसीय अभ्यास सिरिज खेल्दै छ। टोलीमा बसिर अहमद, किशोर महतो र देव खनालजस्ता नयाँ खेलाडीलाई मौका दिँदा यसपटक पनि ज्ञानेन्द्रको नाम कतै उल्लेख छैन।
तर, यसरी लगातार ज्ञानेन्द्र टोलीमा नपर्नु कुनै ‘कोइन्सिडेन्ट’ होइन। न त ज्ञानेन्द्रको जिद्दीपन नै मान्न सकिन्छ। त्यसैले ज्ञानेन्द्र टोलीमा पर्न छाड्नुलाई क्यानसँग उनको विवादलाई बाहिर राख्न मिल्दैन।
क्यानका कार्यवाहक सचिव मल्ल भने नेपाली टोलीमा ज्ञानेन्द्र पर्ने सम्भावना अन्त्य नभएको बताउँछन्। खेलाडी छनोटको सम्पूर्ण जिम्मेवारी छनोट समितिमै निहित हुने दाबी गर्दै उनले क्यानमाथि अनावश्यक आरोप लगाउने गरिएको बताए। ‘खेलाडी छनोटमा क्यानको कुनै हात हुँदैन। मुख्य प्रशिक्षक तथा छनोटकर्ताले विभिन्न आधार हेरेर छनोट गर्ने हो। उहाँ (ज्ञानेन्द्र) के कारणले पर्नु भएन भन्ने कुरा मलाई थाहा हुने विषय होइन। तर, उहाँको पर्ने सम्भावना भने अन्त्य भएको छैन,’ उनले भने।
मल्लले भनेको जस्तै एक खेलाडी खेल्न नछाडुन्जेल खेलिरहन्छ। यसकै उदाहरण हुन्, भारतीय क्रिकेटर दिनेश कार्तिक। उनले ३६ वर्षको उमेरमा पनि १६ वर्षे जवानीजस्तो जोस् देखाइरहेका छन्। र, निरन्तर रन बनाइरहेका छन्।
कुनै बेला पूर्वकप्तान महेन्द्रसिंह धोनीकै कारण कार्तिकलाई भारतीय टोलीबाट बोर्ड अफ क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई)ले बाहिर निकालेको आरोप लाग्थ्यो। उनले पनि बीसीसीआईविरुद्ध यसबारे खुलेर नबोलेका होइनन्। करिअरले पिकअप लिँदै गर्दा आफूलाई बाहिर राख्नु कार्तिकका लागि सैह्य पनि थिएन। तर, बीसीसीआईले कार्तिकलाई असहज वातावरण सिर्जना गरिदिएन।
अहिले कार्तिक फरक पुस्तासँग टोलीमा स्थान बनाउन संघर्षरत छन्। उनलाई यतिबेला टोलीमा फर्काउन फरक पुस्ताका खेलाडीले मात्रै होइन बीसीसीआईले समेत सहयोग गरिरहेको छ। अहिले कार्तिकलाई सौहार्दपूर्ण तरिकाले क्रिकेट खेल्न दिन बीसीआईले क्रिकेटमा अनावश्यक हस्तक्षेप नगर्नु महत्त्वपूर्ण मानिन्छ।
अब क्यानमाथि एक नैतिक प्रश्न उठ्छ– इगोकै कारण ज्ञानेन्द्रलाई टोलीबाहिर राखिरहने कि गल्ती सच्चाएर खेल्न सहज वातावरण निर्माण गरिदिने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।