नयाँ दिल्ली- युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिंग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन म्यानमारलाई आह्वान गरेका छन्।
केही हप्ताअघि म्यानमारमा चर्किएको हिंसाका कारण भागेर बंगलादेशमा शरणार्थी भएका लाखौँ रोहिंग्या शरणार्थीहरूलाई तत्काल स्वदेश फर्काउन उनले आह्वान गरे। टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिंग्यालाई आवश्यक सहयोग म्यानमारले तत्काल उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
म्यानमारको सेनाले रोहिंग्याहरूको घर जलाइदिन थालेपछि उनीहरू विस्थापित भएर बङ्गलादेशमा शरणार्थी हुनुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। नयाँ दिल्लीमा भारतीय नेताहरूसँगको भेटपछि अध्यक्ष टस्कले छिमेकी मुलुकको हैसियतले भारतले पनि केही सकारात्मक र सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले युरोपेली सङ्घको तर्फबाट गर्न सकिने सहयोग र भूमिकाका लागि सङ्घ तयार रहेको पनि जानकारी दिएका छन्।
गत अगस्टको अन्त्यतिर म्यानमारमा भड्कीएको हिंसाका कारण झन्डै पाँच लाख रोहिंग्या समुदायका मानिस बङ्गलादेशमा शरणार्थी भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। तर म्यानमार सरकारले भने विस्थापित भएकाहरू अवैध आप्रवासीहरू भएकाले उनीहरू म्यानमारका नागरिक नभएको दाबी गरेको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।