काठमाडौं– ‘सत्या’, ‘श्रीदेवी’, ‘सरकार’जस्ता सफल बलिउड फिल्मका निर्देशक राम गोपाल बर्मामाथि मुद्दा परेको छ। वर्मामाथि भारतको हैदरावाद अदालतमा मुद्दा दायर भएको हो।
वर्माले भारतको राष्ट्रपति पदका लागि ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’का तर्फबाट उम्मेदवार रहेकी द्रौपदी मुर्मूमाथि गरेको टिप्पणीका कारण उनीविरुद्ध मुद्दा परेको हो।
उनको यो बयानलाई लिएर भारतीय जनता पार्टीका एक नेताले प्रहरीमा उजुरी दिएका थिए। जसअनुसार उनीविरुद्ध प्रहरीले हैदरावाद अदालतमा मुद्दा दर्ता गरेको छ।
विवादमा आएको वर्माको बयान भने द्रौपदी राष्ट्रपति भएमा पाण्डव को हुन्छ भन्ने रहेको छ। उनले केही दिनअघि ट्विटरमा लेखेका थिए, ‘यदि द्रोपदी राष्ट्रपति भएमा पाण्डव को हो त? त्योभन्दा पनि धेरै आवश्यक कुरा कौरव को हुन्छ?’
वर्माले यो ट्विट गरे पनि उनले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै धेरैले टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा पनि उनीविरुद्ध कानुनी कारबाही हुनुपर्ने माग उठिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।