काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नै निरन्तरता दिने विषयमा निर्णय भइनसकेको बताएका छन्।
शनिबार प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत् पुनः नेपाल फर्किने संकेत गरेका छन्। फेसबुकमा स्टोरी राख्दै अबको लक्ष्य फिफा विश्वकप २०२६, एसिया कप २०२७ क्वालिफायर र साफ कप २०२३ रहेको उल्लेख गरेका छन्। तर, उनलाई फर्काउने या नफर्काउने भन्ने अन्तिम निर्णय भने एन्फाले गर्ने छ।
‘८ गते कार्यसमितिको बैठकले सचिवालयलाई प्रशिक्षकसँग कुरा गर्न निर्देशन दिएको छ। सोहीअनुसार मैले प्रशिक्षक अल्मुताइरीसँग कुरा गरिरहेको छु। उहाँ अहिले स्वास्थ्य परीक्षणका क्रममा कुवेतमा हुनुहुन्छ। उहाँसँग छलफल हुन बाँकी रहे पनि स्वास्थ्य परीक्षण सकेर नेपाल फर्कने बताउनुभएको छ,’ महासचिव राईले नेपाललाइभसँग भने।
उनका अनुसार प्रशिक्षक अल्मुताइरी नेपाल फर्किएपछि मात्रै एन्फाले कुराकानी अगाडी बढाउने छ। ‘पहिले उहाँ नेपाल आउनुपर्यो, त्यसपछि बसेर कुरा गर्छौं। कुराकानी गरेपछि कार्यसमितिले निर्णय गर्छ। कतार एफएसँग त्रिपक्षीय कुराकानी हुन्छ, अनि पो टुङ्गो लाग्छ,’ महासचिव राईले भने।
खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि एन्फाले छानबिन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले एसियन कप छनोटपछि कतार फुटबल एसोसिएसनको सहयोगमा नेपालको प्रशिक्षक बनेका अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो।
अल्मुताइरी र एन्फाबीच सन् २०२४ सम्मका लागि सम्झौता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।