काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत अन्य जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ठेक्का गर्ने सहमति भएको थियो।
विजयपुर नगरपालिकाले प्राप्त हुन आएको आयमध्ये ६० प्रतिशत र गुजराले ४० प्रतिशत रकबम बाँडफाँड गर्ने निर्णय भएको थियो।
तर, फतुवा विजयपुरले उक्त निर्णयलाई रद्ध गर्दै नगरपालिकालाई नोक्सानी पुर्याएको भन्ने उजुरीमा अनुसन्धान गर्दा फतुवा नगरपालिका दोषी पाइएकाले अख्तियारले तत्कालीन जनप्रतिनिधिसहित उक्त कार्यमा संलग्न कर्मचारीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादव, तत्कालीन उप्रमुख कान्ती देवी, वडा नम्बर १ का अध्यक्ष सञ्जय प्रसाद वडा नम्बर २ का अध्यक्ष भविछन राय यादव, वडा नम्बर ३ का वडाध्यक्ष दीपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालसमेत वडाध्यक्ष रहेका शेख एजाज अहमदविरुद्ध मुद्दा दर्ता गराएको छ।
यस्तै उक्त निर्णय प्रकरणमा संलग्न वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, वडा नम्बर ८ का तत्कालीन अध्यक्ष र हाल कार्यपालिका सदस्य रहेका उमाशंकर साह कलवार, वडा नम्बर ९ का तत्कालीन अध्यक्ष दीपनारायण चौधरी, वडा नम्बर १० का तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद चौधरी, वडा नम्बर ११ का तत्कालीन र हालका समेत अध्यक्ष रहेका ज्ञानेन्द्र चौधरी, नगर कार्यपालिका सदस्य सुन्दरी झा, फुलकुमारी देवी, सञ्जु देवी, शशी कुमार साह, रविन्द्र कुमार निधि, लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य र हाल वडा नम्बर ७ का सदस्य जिरनी देवीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारका अनुसार उनीहरुले २०७५ पौस १५ गते बकैया नदीको ठेक्का सम्बन्धमा नगर कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न वेवास्ता गरेको, सबैभन्दा बढी कबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी वोलकवोल गर्ने बोलपत्रदातालाक्ष्ए सम्झौता गर्न बोलाएको र पहिलो वोलकवोल गर्नेको धरौटी जफत गर्नुपर्नेमा अमानतबाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको आरोप छ।
यस्तै २०७५ फागुन १७ गते नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय गरेका कारण नगरपालिकाको आन्तरिक आएमा एक करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ हानीनोक्सानी गर्ने बदनियत राखेर कार्यपालिकाको बैठकबाट पौस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको आरोपत्रमा उल्लेख छ।
यस्तै धरौटी फिर्ता दिने निर्णय गरी नगरपालिकाको आयमा हानी नोक्सानी गरेर भ्रष्टाचारजन्य कार्य गरेकाले आरोपितविरुद्ध एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगाे कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो। आरोपितबाट असुल गराएर फतुवा विजयपुर नगरपालिकालाई ६० प्रतिशत र गुजरालाई ४० प्रतिशत रकम दिलाउन पनि माग गरिएको छ।
यस्तै फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीइ अधिकृत गोकुल ढुंगेल र निम्ति प्रमुख प्रशासकीय अधिकृत रन्जना साहको हकमा नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गर्न वेवास्ता गरेको, सम्झौता गर्न सात दिनको म्याद दिइएकोमा म्याद सकिँदा पनि सम्झौत ागर्न नआउने ठेकेदारलाई कारबाही नगरेको, धरौटी जफत नगरेको लगायतका आरोपसहित मुद्दा दायर गरिएको छ।
उनीहरु तीन जनाविरुद्ध पनि अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो कायम गर्दै असुल गर्न माग गरेको छ। उनीहरुबाट असुल गरी उक्त रकम दुई नगरपालिकाबीच भएको पूर्वसहमति अनुसार वितरण गर्न आरोपपत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।