काठमाडौं– साहित्यकार नयनराज पाण्डेको पुस्तक ‘लू’माथि आधारित रहेर बन्न लागेको फिल्ममा निर्देशकको रुपमा प्रदीप भट्टराई जोडिएका छन्। फिल्मलाई निर्माण गर्न लागेको कम्पनी कारो फिल्म्सले भट्टराईलाई निर्देशकको रुपमा जोडेको हो।
फिल्मको निर्माण कम्पनी र भट्टराईबीच सहमति भएको छ। फिल्मको निर्देशकका रुपमा भट्टराई रहने जानकारी दिँदै कारो फिल्म्सले जारी गरेको विज्ञप्तिमा निर्मात्री निशा खरेल र भट्टराईबीच लिखित सहमति भएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘उपन्यासमा नेपाल र भारतको सीमाको विषय पनि उठेको छ। उपन्यास जति रोमाञ्चक छ, फिल्म पनि उति नै मजा आउने किसिमको छ। दर्शकलाई मनपर्ने कथा यसमा समेटिएको छ।’
निर्देशक भट्टराईले यसअघि निर्देशन गरेका फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ व्यवसायिक रुपमा सफल फिल्महरु हुन्। हाल भट्टराई ‘महापुरुष’ फिल्मको काममा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।