काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले सन् २०१८ मा गोलकिपर केपा आरिसाबागलालाई अनुबन्धन गरेको थियो। उनलाई स्पेनिस ला लिगाको क्लब एथ्लेटिक बिल्बाओबाट कीर्तिमानी ७१.६ मिलियन युरोमा चेल्सीले क्लबमा भित्र्याएको थियो।
तर, त्यसको दुई वर्षपछि भने चेल्सीले इडुवार्डो मेन्डीलाई ५ वर्षको लागि भित्र्यायो। मेन्डी अहिले प्रशिक्षक थोमस टुचेलको पहिलो रोजाइका गोलकिपर हुन्। उनी चेल्सीमा हाबी हुँदा केपाले २०२१–२२ सिजनमा प्रिमियर लिगको ६ खेलमा मात्र मैदान उत्रिने अबसर पाए।
केपाले चेल्सीमा सधै दोस्रो रोजाईको गोलकिपर भएर नबस्ने भन्दै टुचेलसँग छलफल गर्ने बताएका छन्। उनले आफू चेल्सीबाट धेरैभन्दा धेरै खेल खेल्न तयार रहे पनि टुचेलसँगको छलफलपछि मात्र स्टामफोर्ड ब्रिजको बसाईबारे भन्न सक्ने बताए।
‘म चेल्सीमा खुसी छु। तर, म पहिलो रोजाइमा पर्न चाहन्छु,’ उनले भने।
पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिड जाने भएपछि चेल्सीले केपालाई अनुबन्ध गरेको थियो। स्पेनिस टोलीका दोस्रो रोजाका केपा दुई सिजन स्पेनिस क्लबमा रहेर इंग्लिस क्लबमा लागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।