फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ निर्वाचन गराउन निर्देशन दिएको छ। कमिटी अफ एडमिनिस्ट्रेटर्स (सीओए)सँगको पहिलो चरणको वार्तापछि फिफाले निर्वाचन गराउन निर्देशन दिएको हो।
भारतीय सञ्चारमाध्यका अनुसार फिफाले महासंघलाई यही वर्ष सेप्टेम्बरसम्ममा निर्वाचन गराउन भनेको छ। योसँगै भारतीय फुटबलमा प्रतिबन्धको खतरा टरेको छ।
यसैबीच, फिफाले असन्तुष्टि प्रकट गरेसँगै सीओएले महासंघलाई सञ्चालन गर्न गठित १२ सदस्यीय सल्लाहकार समिति विघटन गरेको छ। भारतीय सर्वोच्च अदालतले महासंघलाई विघटन गरेर यसको कमाण्ड सीओएलाई सुम्पेको थियो। त्यसपछि एसियाली फुटबल संघ (एएफसी) का महासचिव विन्डसरको नेतृत्वमा फिफा टोली भारत आएको हो।
फिफाले अक्टोबरमा हुन लागेको यू–१७ महिला विश्वकपमा असर नपरोस् भनेर सेप्टेम्बरसम्ममा निर्वाचन गराउन भनेको छ। यद्यपि, सीओएलाई भेट्नुअघि फिफा टोलीले पूर्वअध्यक्ष प्रफुल्ल पटेललाई उनको निवासमा भेटेको थियो। फिफा टोलीले बुधबार खेलकुदमन्त्री अनुराग ठाकुरसँग पनि भेट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।