काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले करिब पाँच किलो लागुऔषध सेतो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
तीन विदेशी र एक नेपाली नागरिकसहित चार जनालाई ब्यूरोको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा राहदानी नम्बर टिएई ११५९४३ बाहक तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अबूलिकी, भारत हरियाना साप्ला तसिलगान्दा ठेगाना भएका ४६ वर्षीय मुनिम सिंह, सोही ठाउँका भएका ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा वीरगंज महानगरपालिका–१३ ठेगाना भएका ३० वर्षीय बिक्की रौनियार रहेको ब्युरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए।
सुरुमा प्रहरीले असार २ गते तान्जेनियन नागरिक अबुलिकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। अबूलिकीको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाई राखेको ४ किलो ९ सय ग्राम हेरोइनसहित काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिका, दुबई हुँदै काठमाडौं आएका थिए। साथै उक्त लागुऔषध लिन आएका थप तीन जना पछि पक्राउ परेका हुन्।
यसैगरी काठमाडौं महानगरपालिका–२७ स्थित सडक किनाराबाट १९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा झापा कमल गाउँपालिका–४ ठेगाना भएका अनुप बराईली भन्ने ३६ वर्षीय होमबहादुर विश्वकर्मा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ ठेगाना भएका २४ वर्षीय रोशन फुँयाल रहेका छन्।
अनुसन्धानको क्रममा होमबहादुर बस्दै आएको काठमाडौं महानगरपालिका–७ स्थित होटल थ्री डिको १०१ नम्बरको कोठाबाट थप ५२ ग्राम खैरो हेरोइन, ४३ ग्राम ५ सय मिलीग्राम लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु, नगद १ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।