काठमाडौं– नेपालको न्यूरोड टिम (एनआरटी)ले मलेसियाको पेनाङमा आयोजनामा हुने टुवान याङ टेरूतमा (टीवाईटी) कप फुटबल प्रतियोगितामा मलेसिया र इन्डोनेसियाको टिमसँग खेल्ने भएको छ ।
एनआरटीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै टीवाईटी कपमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।
प्रतियोगिता अन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसीसँग खेल्ने छ। यस्तै, २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्ने छ।
प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो। प्रतियोगिता २८ जुनदेखि २ जुलाईसम्म हुनेछ।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ। उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ।
सहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारीस्वरूप एनआरटीले ‘प्री सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्न लागेको हो।
एनआरटीले मलेसिया जानुअघि नेपालमै केही अभ्यास खेल पनि खेल्नेछ। एनआरटीले २५ जुनमा दशरथ रंगशालामा संकटा क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने छ।
यस्तै, एनआरटीले थाइल्यान्डमा ३ मैत्रीपूर्ण खेल खेल्नेसमेत जनाएको छ। जसमध्ये एक खेल थाई लिग वान क्लब चेनबुरी एफसीसँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।