काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले जिम्मेवारी ट्रान्सफर भएको बताएका छन्।
बुधबार एन्फा मुख्यालय सातदोबाटोमा पद तथा गोपनियताको सपथ लिँदै नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको टिमबाट आफूहरूमा जिम्मेवारी आएको बताएका हुन्।
‘अहिले यो समिति निर्वाचित भएर आइरहेका छौं। साधारण सभाले हामीलाई गहन जिम्मेवारी दिएको छ,’ उनले भने, ‘हार जित होइन, कर्माजीको टिमबाट हाम्रो टिममा जिम्मेवारी आएको छ। त्यो हामीले जिम्मेवारीपूर्वक नेपाली फुटबलमा लागु गर्नेछौं।’
उनले शपथमा गरेका कुरा मनन गर्दै नेपाली खेलाडी, प्रशिक्षक, जिल्ला, क्लब, समर्थकहरूप्रति सदैव इमान्दार रहेर काम गर्नेसमेत प्रतिज्ञा गरे। ‘नेपाली फुटबलमा योगदान गर्ने सबैलाई सम्मान गर्दै सबैबाट सुझाव, सहयोग र साथको अपेक्षा राखेको छु,’ उनले भने।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१ औं साधारणसभाबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए। नेम्वाङले अध्यक्षकै अर्का प्रत्यासी अर्थात् निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका थिए।
शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिमा नेम्वाङ वरिष्ठ उपाध्यक्ष रहेका थिए। जम्मा ८४ भोटमा भएको प्रतिस्पर्धामा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे। अध्यक्षकै अर्का प्रत्यासी राजीव पौडेलले एक मतसमेत ल्याउन सकेनन्।
एन्फाको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भए भने उपाध्यक्षहरूमा दावा लामा, दिपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी निर्वाचित भए।
केन्द्रीय सदस्यमा अनिल मल्ल, मनिष जोशी, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोतम थापा, रमेश व्यन्जनकार, मनीराज विष्ट, टिकाराम लामा, भरत बुढथापा निर्वाचित भएका थिए।
यसैगरी, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन्। निर्वाचितहरूलाई निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले बुधबार शपथ गराएका थिए।
शपथ लगत्तै नेम्वाङले पदभार ग्रहण गरेका छन्। कार्यसमितिको पहिलो बैठक पनि बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।