काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताकाे सपथ लिएका छन्। सातदोबाटोस्थित एन्फाको केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच एन्फाका १८ जना नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताकाे सपथ लिएका हुन्।
निर्वाचित १९ जनामध्ये सदस्य मणिराज विष्ट भने पितृशोकका कारण सपथ कार्यक्रममा उपस्थित हुन पाएनन्। अन्य १८ जनालाई एन्फा निर्वाचन समितिले सपथग्रहण गराएको थियो।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१ औं साधारणसभाबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए।
नेम्वाङले अध्यक्षकै अर्का प्रत्यासी अर्थात् निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका थिए।
शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिमा नेम्वाङ वरिष्ठ उपाध्यक्ष थिए। जम्मा ८४ मतमा भएको प्रतिस्पर्धामा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे। अध्यक्षकै अर्का प्रत्यासी राजीव पौडेलले एक मतसमेत ल्याउन सकेनन्।
एन्फाको नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भए भने उपाध्यक्षहरूमा दावा लामा, दिपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी निर्वाचित भए।
केन्द्रीय सदस्यमा अनिल मल्ल, मनिष जोशी, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोतम थापा,रमेश व्यन्जनकार, मनीराज विष्ट, टिकाराम लामा, भरत बुढ थापा निर्वाचित भएका थिए।
यसैगरी महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।